NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १० गते

रामचन्द्र पौडेल– गुटले टाक्सिए, सम्झौताले बौरिए

काठमाडौं । पटक–पटकको असफलताबाट निराश बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जीवनको उत्तरार्धमा देशकै सर्वोच्च पद राष्ट्रपति बन्ने लगभग निश्चित भएका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादीसहित ८ दलले उनलाई साझा उम्मेदवारको रूपमा अघि सारेपछि पौडेलको राष्ट्रपति बन्ने बाटो खुल्ला भएको हो । निर्वाचनको मितिसम्म कांग्रेस–माओवादी समीकरणमा नाटकीय फेरबदल नभए पौडेल राष्ट्रपति बन्नेमा कुनै संदेह छैन ।

१० पुसमा बनेको एमाले, माओवादी सहितको सातदलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएपछि देउवाको नेतृत्वमा निर्वाचनअघिको गठबन्धन ब्युँतिएको छ । वर्तमान गठबन्धनलाई नयाँ दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको बलियो साथ छ । ५२ हजार ५४९ मतभारमध्ये पौडेलको पक्षमा ३२ हजार १८८ मत रहेको छ । अंकगणितका आधारमा पौडेलको विजयी यात्रालाई चुनौती दिन सक्ने देखिएको छैन ।

उनी नेपाली कांग्रेसभित्र निष्ठा, इमान र लोकतन्त्रको वकालत गर्ने नेता मानिन्छन् । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि उनी १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । कांग्रेसभित्र बीपीको आर्दशलाई पछ्याउने नेतामध्ये पौडेल एक मानिन्छन् । झण्डै सात दशक लामो राजनीतिमा सक्रिय रहेका उनी समकालीन नेताहरूमध्ये उमेर र राजनीति दुवै हिसाबले अनुभवी नेता मानिन्छन् । कांग्रेसभित्र कोइराला पक्षसँग नजिक रहेर काम गर्दै आएका पौडेल पछिल्लो समय गुटको शिकार बन्न पुगेपछि राजनीतिमाबाट सन्यास लिने अवस्थामा पुगेका थिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्यो । त्यसकै जगमा शनिबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रिपतिको उम्मेदवार बनाउने निर्णय गर्यो । जीवनभर गुटगत राजनीतिले दुब्लाएका उनी अहिले सम्झौताबाट बौरिएका छन् ।

गुटका कारण राजनीतिबाटै सन्यास लिने मनस्थितिमा पुगेका रामचन्द्र पौडेल आफ्नै प्रतिस्पर्धीसँगको सम्झौतापछि एकाएक बौरिएका छन् । प्रधानमन्त्री बन्ने तीव्र अभिलासा पूरा गर्न नसकेका पौडेल आगामी फागुन २५ गतेसम्म नवगठित गठबन्धनमा अग्राख नपलाएमा देशको कार्यकारी प्रमुखको सिंहासनमा पुग्नेछन् 

पौडेलको असफलतको श्रृंखला, गुटगत राजनीतिले निराश

२०७२ मा सुशील कोइरालाको निधनपछि कार्यबहाक सभापति भएका पौडेल एकपटक कांग्रेसको सभापति बन्ने आकांक्षा राखेका थिए । त्यहि आकांक्षा पुरा गर्न उनले कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिए । यद्यपि उनी पराजित भए । खसेको मतको ५० प्रतिशत दुवै पक्षले प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा पौडेल र देउवाबीच प्रतिस्पर्धा भयो । देउवाले १ हजार ८ सय २२ मत पाएर विजयी भए । पौडेलले १ हजार २ सय ९६ मत ल्याए ।

तर, १४औं महाधिवेशनमा आइपुग्दा आन्तरिक परिस्थिति उनलाई पार्टी राजनीतिबाटै अलग गराउने दिशामा अघि बढ्यो । एकपटक भए पनि सभापति बन्ने आकांक्षा बोकेका उनी आफ्नै टीमका नेताले सहयोग नगरेपछि सभापतिको दौडबाट अलग्गिए । पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उनले विज्ञप्ति प्रकाशित गरेर १४औं महाधिवेशनमा आफूलाई अलग राखेको घोषणा गरे ।

आफ्नै समूहप्रति उनको गहिरो असन्तुष्टि व्यक्त गर्दै भनेका थिए–‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ-याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ ।’

उनको निराशापूर्ण घोषणामा विगतमा पनि कांग्रेसभित्र मूल्यमान्यता र आदर्शको राजनीति गर्ने नेताहरू महाधिवेशनपछि मूलधारको राजनीतिबाट अलग्गिनुपरेका दृष्टान्त झल्किन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ जस्ता पूर्ववर्तीहरूले भोगेको नियतिमा १४ औं महाधिवेशनबाट पौडेलले भोग्ने धेरैले अनुमान गरेका थिए ।

२०४८ देखि संसदीय राजनीतिमा अपराजित यात्रा तय गरेका पौडेल २०७४ को संघीय प्रतिनिधिसभा सदस्यमा पराजित भए । तत्कालीन वामगठबन्धनसँग एक्लै पतिस्पर्धा गरेका उनले पहिलोपटक प्रतिनिधिसभा सदस्यमा पराजय भोगेका थिए । योपटक वाम–लोकतान्त्रिक गठबन्धनबाट तनहुँ–१ बाट उनी निर्वाचित भए ।  निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपति बन्ने दाउमा थिए उनी। तर प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा देउवा र प्रचण्डबीच विवाद हुँदा गठबन्धन नै भत्कियाे । गठबन्धन भत्किएपछि निराश भएका उनी देउवासँग असन्तुष्ट थिए । यद्यपि, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थापेको कांग्रेसले पुरानै गठबन्धन ब्युँताउन सफल भएको छ । पुरानै गठबन्धन ब्युँतिएपछि निर्वाचन जित्नेमा अहिले उनी निकै उत्साहित देखिन्छन् ।

करिब चार दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकसम्म पराजय भोगेको तितो अनुभव रहेको छ । यद्यपि, त्यो पराजय भोग्नुमा उनी स्वयम् जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ । २०६७ साउनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएपछि संघीय संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु भयो । प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न सकेन । तीनजना उम्मेद्वारबीच सात पटकसम्म प्रतिस्पर्धा भयो । आठौं पटकमा प्रचण्डले उम्मेदवारी फिर्ता लिए । त्यसपछि खनाल र पौडेलबीच १७ पटकसम्म प्रतिस्पर्धा भयो । तर आवश्यक बहुमत दुवै उम्मेदवारले पाउन सकेनन् । अन्ततः निर्वाचनसम्बन्धी नियमावली नै संशोधन गरियो । अर्को चरणमा खनालले प्रधानमन्त्रीमा बाजी मारे । पौडेलको प्रतिस्पर्धा खेर गयो ।

पौडेललाई प्रधानमन्त्रीमा प्रचण्डको असहयोग, राष्ट्रपतिमा सारथी

०६७ मा प्रधानमन्त्रीको निर्वाचनमा पौडेललाई असफल बनाउन वर्तमान प्रधानमन्त्री प्रचण्ड निकै सक्रिय रहेका थिए । तीनै प्रचण्ड अहिले पौडेललाई राष्ट्रपति बनाउँन सक्रिय रहेका छन् । त्यतिबेला कांग्रेसलाई प्रधान शत्रु करार गरेका प्रचण्डले प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएपछि खनाललाई प्रधानमन्त्री बनाउन ठुलै कसरत गर्नुपरेको थियो । त्यतिबेला खनाललाई प्रधानमन्त्री बनाउन नहुनेपक्षमा पार्टीभित्रै केपी–माधव समूहको उभिएका थिए । अन्ततः प्रचण्डकै पहलकदमीमा खनाल प्रधानमन्त्रीमा निर्वाचित भए ।

६०१ संविधानसभा सदस्य रहेको तत्कालीन संसदमा एमाओवादीसँग २३८ सदस्य थियो । कांग्रेससँग ११५ र एमालेसँग १०८ सदस्य रहेको थियो । बहुमतका लागि ३०१ संख्या आवश्यक पथ्र्यो । अन्य दलसँग १४० मत रहेको थियो । त्यतिबेला निर्णायक शक्ति रहेको माओवादीलाई चुनौती दिन अन्य दलसँग आवश्यक मत थिएन । त्यसैले पहिलो संविधानसभाभर प्रचण्डको दबदबा कायमै रहेको थियो ।

तर २०७२ मा नयाँ संविधान जारी भएपछि एमालेसँग भन्दा कांग्रेससँगको सम्बन्धमा प्रचण्डले ‘कम्र्फटेबल फिल’ गर्दै आएका छन् । त्यसकै कडिकाे रूपमा पछिल्लाे समीकरणलाई लिन सकिन्छ । एमालेकै प्रस्तावमा प्रधानमन्त्री भएपनि तीन महिना नपुग्दै उनले समीकरण भत्काए । मंसिरमा भएको निर्वाचनमा पौडेलको पक्षमा मत माग्न तनहुँ पुगेका प्रचण्डले उनलाई निर्वाचित गरी पठाए प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । निर्वाचनपछि उनले आश्वासन दिए जस्तै पौडेललाई प्रधानमन्त्री बनाउन भुमिका त खेलेनन् तर राष्ट्रपति बनाउन प्रचण्डकाे महत्वपूर्ण रहेकाे छ ।

यस्तो छ पौडेलको जीवनी

वि.सं. २००१ साल असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल २०१७ सालमा राजा महेन्द्र ‘कु’पछि राजनीतिमा होमिएका थिए । त्यतिबेला कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाए । कांग्रेस निकट नेविसंघमा सक्रिय रहेका उनी ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल संस्थापक केन्द्रीय सदस्य थिए ।

०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए । त्यसयता निरन्तर उनी केन्द्रीय राजनीतिमा सक्रिय छन् । ०४८ को निर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । निर्वाचनपछि गिरिजा नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भए ।
०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा उनी सभामुखमा निर्वाचित भए । ०५६ सालमा तनहुँ–२ तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री भए । ०६२ सालमा कांग्रेस महामन्त्री भए । ०६३ सालको अन्तरिम सरकारमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए ।

०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित भए ।
पौडेलले पञ्चायती निरंकुश व्यवस्थाको विरुद्ध संघर्षका क्रममा पटक–पटक गरी १५ वर्ष जेलजीवन बिताएका छन् । नेपाली साहित्यमा विशेष रुचि राख्ने पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् ।