NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अमिताभ, धर्मेन्द्र र मुकेश अम्बानीको घरमा बम पड्काउने धम्की

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यवसायी मुकेश अम्बानीको घरमा बम पड्काउने धम्की आएको छ । मंगलबार एक अज्ञात व्यक्तिले नागपुर पुलिस कन्ट्रोल रुममा फोन गरी तीन सेलिब्रेटीको घर उडाउने धम्की दिएका हुन् ।

ती व्यक्तिले फोनमा मुम्बईको दादरमा २५ हतियारधारी मानिस आइपुगेका र उनीहरूले आतंकवादी घटना गराउन सक्ने दाबी गरेका हुन् ।

यस्तो फोन आउनेवित्तिकै मुम्बई प्रहरीले तीन सेलिब्रेटीको घरमा छानविन गर्न पठाएको थियो । तर छानविनका क्रममा केही पनि भेटिएन । अहिले प्रहरीले अमिताभ र धर्मेन्द्रको घरको सुरक्षा बढाएको छ । योसँगै फोन गर्ने व्यक्तिको पनि खोजी भइरहेको छ ।

कुनै सेलिब्रेटीलाई यस्तो धम्की आएको यो पहिलो घटना भने होइन । यसअघि पनि धेरै बलिउड कलाकार र गायकलाई ज्यान मार्ने धम्की आएको छ भने कतिपय साँच्चै आक्रमणमै पनि परेका छन् ।

फिल्म ह्याप्पी न्यू इयर रिलिज हुनुअघि शाहरुख खानलाई डन छोटा राजनका लागि काम गर्ने रवि पुजारीबाट धम्की आएको थियो । यो धम्कीपछि उनले बुलेट प्रुफ कार पनि किनेका थिए ।

सत्यमेव जयतेको पहिलो सिजनपछि आमिर खानलाई ज्यान मार्ने धम्की आउन थाल्यो । आफ्नो सुरक्षाका लागि आमिरले १० करोडको बुलेट र बम प्रुफ कार किनेका थिए । आमिर खान पूर्व प्रधानमन्त्री मनमोहन सिंह र मुकेश अम्बानी पछि बुलेट प्रुफ गाडी किन्ने तेस्रो भारतीय हुन्।

अर्का अभिनेता अक्षय कुमार अक्षय कुमारलाई पनि सन् २०१३ मा धम्की आएको थियो । वास्तवमा, अक्षयले एक कर्मचारीलाई निकालेका थिए, जसको कारण उनलाई डन रवि पुजारीका गुण्डाहरूले धम्की दिएका थिए।

गायक सोनु निगमलाई पनि सन् २०१४ मा ज्यान मार्ने धम्की आएको थियो । सोनुलाई यो धम्की अन्डरवर्ल्ड डन छोटा शकीलले दिएका थिए । यस्तो धम्की उनलाई व्यवस्थापन कम्पनी परिवर्तन गर्न दिइएको थियो।

फिल्म ‘कुछ कुछ होता है’ रिलिज हुनुअघि नै फिल्म निर्माता करण जोहरलाई रिलिज रोक्ने धम्की आएको थियो । चर्चित डन अबु सलेमले धम्की दिए पनि करणले फिल्म रिलिज गर्ने हिम्मत जुटाए । यो फिल्म निकै हिट साबित भयो ।

निर्माता राकेश रोशन आफ्नो सान्ताक्रूज अफिसबाट निस्कदै गर्दा दुई मोटरसाइकल सवारले उनीमाथि गोली हानेका थिए । राकेशका चालकले तत्कालै उनलाई अस्पताल पुर्‍याए जसले उनको ज्यान बचायो । वास्तवमा कहो ना प्यार हैको सफलतापछि अन्डरवर्ल्डका मानिसहरूले उनीसँग जबरजस्ती पैसाको माग गरिरहेका थिए। जब राकेशले त्यसो गर्न अस्वीकार गरे, ती मानिसहरूले उनलाई मार्ने प्रयास गरे ।

टी–सिरिजका संस्थापक गुलशन कुमारको सन् १९९७ मा हत्या भएको थियो । गुलशनलाई दुई मोटरसाइकल सवारले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । वास्तवमा अंडरवर्ल्डका अबु सलेमले गुलशनसँग १० करोड मागेका थिए । पैसा दिन नमान्दा उनको हत्या भएको थियो ।