NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते
सन्दर्भ

महिला दिवस के हो, किन मनाइन्छ ?

महिलाको जस्तै पुरुषको दिवस छ ?

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ ? यो उत्सव हो कि विरोधको प्रतीक ? के महिला दिवसजस्तै पुरुष दिवस पनि मनाइन्छ ?

विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा यस्ता जिज्ञासाहरू उत्पन्न भएका हुन सक्छन् ।

यो दिवसको इतिहास ११३ वर्ष लामो छ । १९१० देखि हरेक मार्च ८ लाई संसारभरका महिलाहरूले विशेष दिनका रूपमा मनाउने गरेका छन् ।

यो दिवसको नाम लिने बित्तिकै क्लारा जेटकिनको नाम अगाडि आउँछ । जेटकिन तिनै व्यक्ति हुन्, जसले सन् १९१० मा यो दिवसको जग बसालिकी थिइन् ।

अन्तर्राष्ट्रिय महिला दिवस वा महिला दिवस, श्रमिक आन्दोलनबाट उत्पत्ति भएको हो । जसलाई पछि संयुक्त राष्ट्र संघले वार्षिक उत्सवको मान्यता दियो ।

यस दिनलाई विशेष बनाउन ११५ वर्षअघि अर्थात् सन् १९०८ मा न्युयोर्क सहरमा करिब १५ हजार महिलाको प्रदर्शन महत्त्वपूर्ण रह्यो । यसरी प्रदर्शनमा उत्रिएकाको माग महिलाको कामको समय घटाउनुपर्ने थियो । राम्रो तलब सुविधा र मताधिकार मुद्दा पनि सँगै उनीहरूले उठाएका थिए ।

त्यसको ठीक एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा ग-यो । यसलाई अन्तर्राष्ट्रिय बनाउने विचार सर्वप्रथम क्लारा जेटकिन नामकी महिलाको दिमागमा आयो ।

क्लारा वामपन्थी कार्यकर्ता थिइन् । उनी महिला अधिकारका लागि आवाज उठाउने गर्थिन् । उनले सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुझाव दिएकी थिइन् ।

उक्त सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए र उनीहरूले क्लाराको सुझावलाई सर्वसम्मतिले स्वीकार गरे । पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइयो । यसको शताब्दी उत्सव सन् २०११ मा मनाइएको थियो ।

प्राविधिक रूपमा यस वर्ष हामी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेका छौं । सन् १९७५ मा संयुक्त राष्ट्र संघले मनाएपछि अन्तर्राष्ट्रिय महिला दिवसलाई औपचारिक रूपमा मान्यता दिइएको थियो । यसका लागि पहिलो विषय सन् १९९६ मा संयुक्त राष्ट्र संघले छनोट गरेको थियो, जसको नाम ‘सेलिब्रेटिंग द विस्ट एन्ड प्लानिङ फर फ्युचर’ थियो ।

आज यो दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई मनाउने दिन बनेको छ । जबकि, यसको पछाडिको राजनीतिक जरा भनेको महिला र पुरुषबीचको असमानताको बारेमा चेतना फैलाउनु हो, जुन अझै पनि जारी छ । जस्तैः हडताल र विरोधहरू आयोजना गरेर ।

८ मार्च नै किन ?

क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव पहिलो पटक प्रस्तुत गरेकी थिइन् । तर त्यतिबेला उनको दिमागमा कुनै खास मिति भने थिएन ।

सन् १९१७ मा रुसका महिलाहरूले ‘रोटी र शान्ति’ को माग गर्दै जारको शासनविरुद्ध हडताल गरेपछि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय भएको थियो । यसपछि जार निकोलस द्वितीयले आफ्नो सिंहासन छोड्नुप-यो ।

त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो ।

यस दिन बैजनी रङको लुगा किन लगाउने ?

अन्तर्राष्ट्रिय महिला दिवस प्रायः बैजनी रङले चिनिन्छ । किनभने, यसलाई ‘न्याय र सम्मान’ को प्रतीक मानिन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस वेबसाइटका अनुसार बैजनी, हरियो र सेतो अन्तर्राष्ट्रिय महिला दिवसका रंग हुन् । ‘बैजनी रंग न्याय र सम्मानको प्रतीक हो भने हरियो आशाको । सेतोले चाहिँ शुद्धताको प्रतिनिधित्व गर्छ । यद्यपि, यस रंगसँग सम्बन्धित परिकल्पना निर्विवाद भने छैन् । महिला अधिकारकर्मीहरू भन्छन्, ‘महिला दिवससँग सम्बन्धित यी रंगहरू सन् १९०८ मा बेलायतमा महिला सामाजिक तथा राजनीतिक संघ (डब्लुएसपीयू) बाट सुरु भएको हो ।’

कसरी मनाइन्छ नारी दिवस ?

धेरै देशहरूमा, अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय बिदा हुन्छ । नेपालमा पनि सुरुमा महिलालाई मात्रै बिदा दिने गरिएको थियो । पछिल्लो केही वर्षयता भने पुरुषलाई पनि यो दिवसका अवसरमा छुट्टी दिने गरिएको छ ।

चीनमा राष्ट्रिय परिषदको सुझावमा धेरै महिलाहरूलाई मार्च ८ मा आधा दिन बिदा दिइन्छ ।

इटालीमा मार्च ८ मा महिलालाई मिमोसा फूल दिएर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो प्रचलन कहिलेबाट सुरु भएको हो थाहा छैन । तर, यो दोस्रो विश्वयुद्धपछि रोमबाट सुरु भएको मानिन्छ ।

अमेरिकामा मार्च महिना महिलाको मिति हो । प्रत्येक वर्ष राष्ट्रपतिद्वारा एक घोषणा जारी गरिन्छ, जसमा अमेरिकी महिलाहरूको उपलब्धिहरू वर्णन गरिन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को नारा के हो ?

अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को लागि संयुक्त राष्ट्र संघको विषयवस्तु ‘डिजिटल सबै ः लैङ्गिक समानताका लागि आविष्कार र प्रविधि’ हो ।

विषयवस्तुले टेक्नोलोजी र अनलाइन शिक्षाको क्षेत्रमा पुरूष र महिलाहरूले गरिरहेको योगदानलाई स्वीकार गर्ने र मनाउने उद्देश्य राखिएको छ । यस वर्ष, अन्तर्राष्ट्रिय महिला दिवसमा, महिला र पुरुषको असमानतामा डिजिटल लैङ्गिक अन्तरले पार्ने प्रभावको पनि अनुसन्धान गरिनेछ ।

किनभने, अनलाइन संसारमा महिलाको पहुँचको कमीलाई सम्बोधन नगरे यसले न्यून र मध्यम आय भएका देशको कूल गार्हस्थ उत्पादनमा १.५ ट्रिलियन डलर नोक्सान हुने संयुक्त राष्ट्रसंघको अनुमान छ । तर यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा अन्य विषय पनि चर्चामा छन् । अन्तर्राष्ट्रिय महिला दिवस वेबसाइटले यसलाई ‘महिलाहरूका लागि सकारात्मक परिवर्तनको लागि प्लेटफर्म’ को रूपमा सिर्जना गरिएको बताएको छ । यस वेबसाइटले ३भ्mदचबअभभ्त्रगष्तथ लाई यसको विषयवस्तुको रूपमा रोजेको छ । यससँग आबद्ध संस्था तथा कार्यक्रममार्फत महिलाको रुढीवादी लैङ्गिक भूमिकालाई चुनौती दिन, भेदभावविरुद्ध आवाज उठाउन, पूर्वाग्रहप्रति ध्यानाकर्षण गराउन र महिलालाई हरेक क्षेत्रमा समावेश गर्न आवाज उठाइनेछ ।

महिला दिवस किन आवश्यक छ ?

पछिल्लो एक वर्षमा अफगानिस्तान, इरान, युक्रेन र अमेरिकाजस्ता देशका महिलाहरू युद्ध, हिंसा र नीति परिवर्तनका बीच आफ्नो अधिकारका लागि लडिरहेका छन् ।

उनीहरूलाई घरबाहिर धेरै काम गर्न र पुरुष अभिभावकविना लामो दूरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालिवानले महिलाहरूलाई घर बाहिर वा अन्य व्यक्तिको अगाडि आफ्नो पूरै अनुहार छोप्न आदेश दिएको छ ।

अफगानिस्तानमा तालिवान सत्तामा फर्किएपछि मानवअधिकारको क्षेत्रमा प्रगति रोकिएको छ । किनभने, महिला र बालिकाहरूलाई उच्च शिक्षा लिनबाट वञ्चित गरिएको छ ।

नेपालकै सन्दर्भ हेर्ने हो भने यहाँ महिला र पुरुषबीचको भेदभाव कायम नै छ । अझै पनि समाज पुरुषप्रधान छ । पछिल्ला समयमा महिला र पुरुषबीचको भेदभावमा कमी देखिएता पनि निर्मूल भने हुन सकेको छैन । अझै पनि धेरै महिलाको पहुँच शिक्षा, स्वास्थ्य, रोजगार र राज्यको नीतिनिर्माण तहमा न्यून छ । नेपालमा पनि लैगिंक समानता, समान अवसर, ३३ प्रतिशत महिला अधिकारलगायमा मुद्दाहरुमा बहस भइरहन्छ ।

के पुरुष दिवस पनि छ ?

अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ । तर पुरूष दिवस महिला दिवसजस्तो प्रचार भने हुँदैन । नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ ।

तर यसलाई मनाउने चलन धेरै पुरानो भने होइन । सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन थालिए पनि यसलाई संयुक्त राष्ट्र संघले मान्यता दिएको छैन । बेलायतलगायत विश्वका ८० भन्दा बढी देशका मानिसहरूले अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउँछन् । अन्तर्राष्ट्रिय पुरुष दिवसका आयोजकहरूका अनुसार यो दिन ‘पुरुषहरूले आफ्नो परिवार र समुदायमा विश्वमा योगदान पु-याउने सकारात्मक मूल्यहरू’ भन्ने उत्सव मनाउने र सकारात्मक पुरुष रोल मोडलहरूबारे विश्वलाई शिक्षित गराउने उद्देश्यका साथ चेतना फैलाउने उद्देश्य राखेको छ । महिलाको उत्थानका लागि महिला र पुरुषबीचको सम्बन्ध सुधार गर्नुपर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष