NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १ गते

प्रचण्डको ब्रह्मास्त्र : ओली–देउवाको ढाडमा टेके, टाउकामा प्रहार गरे

काठमाडौं । १० पुसमा प्रधानमन्त्रीको नियुक्तदेखि १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासम्म आइपुग्दा नेपाली राजनीतिले विचित्रको मोड लियो । जम्मा दुई महिना एक दिनको छोटो समयअवधिमा सत्ता समीकरण बनाउने र भत्काउने काम मात्र भएन, एक अर्काबीचको अस्त्र प्रहारले राजनीति वृत्तमा ठूलै हलचल ल्यायो ।

मंसिरमा भएको निर्वाचनपछि बहुमत नजिक पुगेका तत्कालीन सत्ता गठबन्धनका नेता शेरबहादुर देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा थिए । ८९ सिटसहित संसदमा सबैभन्दा ठूलो दलका नेता भएकाले पनि उनकै नेतृत्वमा सरकार बन्ने सबैले अनुमान गरेका थिए । तर एमाले अध्यक्ष केपी ओलीले चलाएको शस्त्रले प्रधानमन्त्री बन्न तयारी अवस्थामा बसेका देउवा एकाएक प्रतिपक्षमा पुगे । ३२ सिटसहित तेस्रो दलका नेता प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । १७ महिना लामो देउवा–प्रचण्डको समीकरण भताभुंग भयो । संघदेखि प्रदेशसम्म सत्ता राजनीतिबाट कांग्रेस किनारा लाग्यो । दाउपेचको राजनीतिमा अब्बल देखिएका ओली ‘किङ मेकर’को भूमिकामा देखिए ।

‘बालकोट सहमति’ले चर्चित रहेको यसघटनाका साक्षी राजतन्त्रको खुल्ला वकालत गर्ने राप्रपादेखि कुनै बेला पृथकतावादी आन्दोलन चलाएका जनमत पार्टीसम्म बस्यो । आफूलाई ‘अग्रगामी’, ओलीलाई ‘पश्चगामी’ करार गर्ने प्रचण्ड र आफूलाई राष्ट्रवादी, प्रचण्डलाई विदेशीको ‘कठपुतली’ भएको आरोप लगाउने ओलीबीचको सम्बन्धले नेपाली राजनीतिमा असम्भवका सबै अवशेषलाई खारेज गरेको थियो ।

सत्ता स्वार्थ र दाउपेचको राजानीतिमा अब्बल देखिएका ओलीले चलाएको अस्त्रलाई योपटक प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राम्रैसँग जवाफी फायर खोले । उनले चलाएको अस्त्रले वैधानिक ढंगले सत्ता कब्जा नजिक पुगेका ओलीका सबै अस्त्रलाई निस्तेज पारिदिएको वामपन्थी नेता राधाकृष्ण मैनालीको बुझाइ छ ।

ओलीको जालझेल, षड्यन्त्र र चलाखीपूर्ण रणनीति प्रचण्डजीले नबुझेको भए ओलीले वैधानिक ढंगले सत्ता कब्जा गरिसकेका थिए । ओलीले प्रचण्डलाई माया गरेर वा वामपन्थीबीच सहकार्यका लागि प्रधानमन्त्री बनाएका थिएनन्’, उनले भने, ‘कमजोर पात्रलाई प्रधानमन्त्री बनाएर उहाँले राष्ट्रपति, सभामुखमा आफ्ना ‘एस म्यान’ राख्न चाहन्थे । त्यसमा उहाँ सफल भएको भए प्रधानमन्त्रीबाट प्रचण्डलाई गलहत्याएर आफै प्रधानमन्त्री बन्ने र फेरी संसद विघटन गरेर मध्यावधिमा जान चाहन्थे । यद्यपि प्रचण्डको जवाफी फायरले केही हदसम्म ओलीको षड्यन्त्र असफल भएको छ ।’

अघिल्लो पटक ओलीबाट धोका खाएका प्रचण्डले २८ कात्तिकमा लमजुङको राइनासमा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीसँग आफूले ज्ञान सिकेर आएको प्रतिक्रिया दिएका थिए । अब त्यो ज्ञान यताउता नहुने र गठबन्धनलाई २० वर्ष टिकाउन प्रयोग गर्ने दाबी गरेका थिए ।

‘जबसम्म यो देशमा शान्ति, संविधान, लोकतन्त्र र जनताले पाएको अधिकारमाथि खतरा भइराख्छ तबसम्म यो गठबन्धन कायमै रहिराख्छ । यो गठबन्धन २० वर्षसम्म टिकिराख्छ । अब अर्को प्रयोग हुँदैन । कतिपयलाई प्रचण्डले अर्को प्रयोग गर्छ कि भन्ने लागेको छ, त्यो नसोच्नुहोला । मैले ज्ञान प्राप्त गरेर आएको छु, केपीसँग एकता गरेर । अब त्यो ज्ञान यता उता हुनेवाला छैन, यहि गठबन्धनलाई लिएर जाने हो’, त्यतिबेला कांग्रेसका नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै उनले भनेका थिए ।

त्यसो त ३ साउन, २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन संसदको रोष्टममा उभिएका प्रचण्डले ओलीतिर हेर्दै आगोसँग नखेल्न चेतावनी दिएका थिए । ओलीलाई बालुवाटारबाट बालकोट पठाउन मुख्य भूमिका खेलेका प्रचण्डले हौसिदै त्यतिबेला भनेका थिए– ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

ओलीबाट सिकेका त्यही अस्त्रलाई प्रयोग गरी प्रचण्डले योपटक उनलाई असफल बनाएको देखियो । १० पुसमा देउवाले प्रधानमन्त्री नबनाएको झोकमा बालुवाटारबाट रन्थनिदै उनी बालकोट पुगेर प्रधानमन्त्रीको पगरी गुथेका थिए । त्यसकाे बदला राष्ट्रपति र सभामुख एमालेलाई दिने उनले ओलीलाई वचन दिए । त्यतिबेला ओलीका अगाडि निकै निरिह देखिएका उनी ओलीको चङ्गुलमा नराम्ररी फसेको आफूले अनुभुति गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन् । त्यसैदिन बालकोट घटनालाई चित्रण गर्दै राउतले गरेको ट्वीबाट नै प्रचण्डको नियति प्रष्ट झल्किन्छ ।

 बालकोट सहमतिभित्र देखिएका दृष्यलाई उनले थप खुलासा गर्दै राउतले भनेका छन्– मलाई बालुवाटार जानुपर्ने मान्छे एकाएक बालकोट बोलाइएको थियो । त्यहाँ मैले जुन दृष्य देखें । जुन मानसिकता मैले पाएँ, त्याे मनोवृत्ति देखेंपछि मलाई एकाएक राजनीतिक ज्ञान र वैराग्य एकैपटक प्राप्त भएजस्तो अनुभूति भयो ।

‘सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । बस म त सुनिरहें । काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति’, त्यसदिन उनले लेखेका छन् ।

खासमा त्यसदिन बिहान उनलाई सत्ता साझेदा दलहरूको बैठकमा बालुवाटार बोलाइएको थियो । बैठकको बीचमै उठेर प्रचण्ड बालकोट पुगेपछि उनलाई उतै बोलाइएको थियो । बालकोट सहमतिभित्र देखिएका दृष्यलाई उनले थप खुलासा गर्दै भनेका छन्– ‘मलाई बालुवाटार जानुपर्ने मान्छे एकाएक बालकोट बोलाइएको थियो । त्यहाँ मैले जुन दृष्य देखें । जुन मानसिकता मैले पाएँ, त्याे मनोवृत्ति देखेंपछि मलाई एकाएक राजनीतिक ज्ञान र वैराग्य एकैपटक प्राप्त भएजस्तो अनुभूति भयो ।’

सत्ताको क्लासमा पहिलो पटक शीर्ष नेताहरूसँग बसेका राउतले त्यहाँ उनलाई तीन वटा कुराले झस्काएको थियो ।

पहिलो प्रचण्ड जसलाई उनले क्रान्तिका नायक र प्रेरणाको स्रोत मानेका थिए, उसलाई त्यहाँ परिवन्द वा बन्धक बनाइएको दृष्य उनी टुलुटुलु हेरिराखे ।

दोस्रो रवि लामिछाने जसबाट लाखौंलाख मानिसले आश गरेका थिए । उनले आशाको किरणको रुपमा देख्थे । नयाँ पात्रबाट परिवर्तन होला कि भनेर अपेक्षा गर्थे, तिनिहरूको व्यवहार देख्दा उनीे आश्चर्यचकित भएका थिए ।

तेस्रो त्यहाँको मानसिकता देखेपछि मधेशी, थारु, आदिवासीहरूले अझै सय डेढसय वर्ष अधिकार नपाउने आभास भएको थियो ।

राउतले भने जस्तै भाेलिपल्ट प्रधानमन्त्रीको सपथग्रहणअघि संसद भवन नयाँ बानेश्वरमा शक्ति बाँडफाँट गर्न बसेको सत्ता साझेदार दलहरूको बैठकमा ओली हावी भएपछि प्रचण्ड झनै झस्किएका  थिए । चुपचाप त्यहाँबाट निस्किएर उनी सपथग्रहणका लागि शितल निवास गए ।

ओलीसँगको सहकार्य लामो समय जान नसक्ने अनुभुति गरेका प्रचण्डले ओलीलाई साइजमा ल्याउन देउवासँग मिलेर पुरानै गठबन्धन ब्युँताउने रणनीति बनाए । ओलीबाट जुनसुकै बेला सत्ता संकट आइपर्ने देखेका उनले २६ पुसमा संसदबाट विश्वासको मत लिनु अघिल्लो दिन देउवाको अस्थायी निवास धुम्बाराही पुगेर राष्ट्रपति कांग्रेसलाई दिने वचन दिए । त्यसको बदला आफ्नो सरकार टिकाइदिन उनले अनुनय विनय गरे ।

प्रचण्डको यही अस्त्रले ओली प्रतिपक्षमा पुगे भने देउवा सत्ता राजनीतिको केन्द्रमा फर्किए । आफूलाई नयाँ र वैकल्पिक शक्ति दाबी गरेका रास्वपा, राप्रपा, जपा लगायत दलहरूसमेत सत्ता स्वार्थमा केन्द्रित रहेको सन्देश दिए । शक्ति सन्तुलनको हिसाबले महत्वपूर्ण मानिएको राष्ट्रपति र सभामुख भिन्नभिन्न दललाई दिएर सम्भावित संवैधानिक संकट टार्न योपटक प्रचण्ड सफल देखिए ।  सत्ता केन्द्रित राजनीतिमा ओलीको ढाडमा टेकेर देउवामाथि प्रहार गरेका प्रचण्डले देउवाको ढाडमा टेकेर ओलीमाथि प्रहार गरी आफू अझै राजनीतिमा शक्तिशाली रहेको देखाए ।

सभामुख पाइसकेको एमालेले राष्ट्रपतिसमेत हात पारे ओलीले वैधानिक ढंगले सत्ता कब्जा गर्ने, त्यसले संविधान, लोकतन्त्र र व्यवस्थामाथि नै प्रहार हुन सक्ने निष्कर्ष प्रचण्ड र देउवाले निकाले । यस विषयमा पार्टीको बैठक बोलाएर निर्णय दिने आश्वास देउवाले प्रचण्डलाई दिएका थिए । त्यसको भोलिपल्ट देउवाले पार्टीबाट निर्णय गराएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराए । त्यसैदिन दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत दिएर ओली–प्रचण्डबीच देउवाले अविश्वासको विउ रोपिदिए ।

देउवाको आड पाएर तंग्रिएका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे । १२ फागुन राति बालुवाटारमा ८ दलबीच शक्ति बाँडफाँटसहित सहमति गरेका उनले ओलीसँग सम्बन्ध तोडे । प्रचण्डको यही ब्रह्मास्त्रले ओली प्रतिपक्षमा पुगे भने देउवा सत्ता राजनीतिको केन्द्रमा फर्किए । आफूलाई नयाँ र वैकल्पिक शक्ति दाबी गरेका रास्वपा, राप्रपा, जपा लगायत दलहरूसमेत सत्ता स्वार्थमा केन्द्रित रहेको सन्देश दिए ।

शक्ति सन्तुलनको हिसाबले महत्वपूर्ण मानिएको राष्ट्रपति र सभामुख भिन्नभिन्न दललाई दिएर सम्भावित संवैधानिक संकट टार्न योपटक प्रचण्ड सफल देखिए । आगामी दिनमा कांग्रेससँग प्रचण्डको सम्बन्ध कुन रूपमा अगाडि बढ्छ भन्नेमा अहिल्यै अनुमान गर्ने अवस्था छैन । यद्यपि सत्ता केन्द्रित राजनीतिमा ओलीको ढाडमा टेकेर देउवामाथि प्रहार गरेका प्रचण्डले देउवाको ढाडमा टेकेर ओलीमाथि प्रहार गरी आफू अझै राजनीतिमा शक्तिशाली रहेको देखाए । ओली–देउवाको ढाडमा टेके उनले टाउकामा प्रहार गरे ।