NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जान्नुहोस् कान सुन्ने क्षमता घटाउने बानी

ऐजेन्सी । अस्वस्थकर जीवनशैली तथा लापरवाहीले धेरै व्यक्तिले शारीरीक तथा मानसिक समस्याले ग्रसित छन् । अहिले बुढौलीमा देखिने समस्या सानै उमेरबाट देखिन थालेका छन् ।

घण्टौंसम्म एयरफोन तथा मोबाइलको प्रयोगले अहिले सानै उमेरबाट नै कान सुन्ने तथा आँखा कम देख्ने समस्या बढदो छ ।  जीवनशैली र खानपानमा पोषणको कमी नै यो संख्या बढ्नुको कारण रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । कान शरीरको धेरै नाजुक अंगहरू मध्ये एक हो । कानलाई सावधानीपूर्वक हेरचाह गर्न आवश्यक छ । व्यक्तिको गलत बानीका कारण पछिल्ला केही वर्षयता मानिसको श्रवण क्षमतामा ठूलो असर परेको छ ।

कस्ता बानीले कान सुन्ने क्षमता घटाउँछ ?

धुम्रपान

धुम्रपान शरीर र स्वास्थ्यका लागि हानिकारक मानिन्छ । धुम्रपानले मुटु र फोक्सोलाई मात्र असर गर्दैन, कानलाई पनि नोक्सान पु-याउँछ । अध्ययनका अनुसार धुम्रपानमा पाइने निकोटिनले कानमा रक्तसञ्चारमा असर गर्छ । जसका कारण कानको कोशिकालाई क्षति पुग्न सक्छ । धुम्रपानका कारण टिनिटस अर्थात कान बज्ने समस्या पनि बढ्दै गएको छ ।

एयरफोनको प्रयोग

हिजोआज मानिसहरूले एयरफोन तथा हेडफोनको अत्यधिक प्रयोग गर्न थालेका छन्। चर्को सङ्गीतले कानको पर्दालाई हानि पु-याउँछ जसले कानमा सहजै असर गर्छ । कानमा लगातार इयरफोन राख्दा आवाज उच्च मात्रामा कानमा पुग्छ । जसले कान कम सुन्ने समस्या निम्तिन्छ ।

इयरबडको प्रयोग

इयरबडले बारम्बार कान सफा गर्दा पनि यसले कान सुन्ने क्षमतामा ह्रास ल्याउँछ । इयरबडले कान सफा गर्दा कानको भित्री भागसम्म पुग्न सक्छ जसले कानको पर्दा फुटन् सक्छ र कान सुन्ने क्षमतामा असर गर्छ ।

कानमा समस्या हुँदा वेवास्ता

कहिलेकाहीं सामान्य कानको समस्या हुँदा हामी वेवास्ता गछौं । त्यसले पनि पछि कानमा ठुलो समस्या ल्याउन सक्छ । हल्का कान दुख्दा वा कानमा केही समस्या हुँदा आफूखुसी औषधीको प्रयोग पनि कानका लागि हानिकारक छ । यसले कानको समस्या बढाउँछ र कान सुन्न सक्ने क्षमता घटाउँछ ।