NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ५ गते

त्यसपछि गोल्छेले रामचन्द्रलाई चड्कन हाने

काठमाडौं । गत पुस १० गते कांग्रेस, माओवादी, एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोडेर एमाले समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि रामचन्द्र पौडेलले निकै विरक्त भाव भंगिमा भनेका थिए–अघिसम्म हाम्रो हातमा सबै कुरा थिए । तर अहिले पूरै रित्तो भएका छौं ।’

हुन पनि, निर्वाचनअघिको गठबन्धन कायम हुँदा कांग्रेसको पोल्टामा संघमा राष्ट्रपतिदेखि प्रदेशमा मुख्यमन्त्री, मन्त्रीलगायतका महत्त्वपूर्ण पद रहन्थे । तर कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तामा ढलिमली गर्ने महत्त्वकांक्षास्वरूप ‘बालहठ’ प्रदर्शन गर्दा रामचन्द्रले भनेजस्तै सबै कुरा गुमेका थिए ।

यो गठबन्धन टुट्दा देउवा जति भयभीत र अधैर्य त रामचन्द्र बनेका थिएनन् तर खिन्न भने पक्कै भएका थिए । त्यो खिन्नता बालुवाटारमा बसेको गठबन्धनको असफल बैठकपछि सञ्चारकर्मीमाझ प्रस्तुत हुँदा प्रष्ट देखिएको थियो । पौडेल खिन्न हुनु स्वाभाविक पनि थियो किनभने, निर्वाचनअघिको गठबन्धन कायम रहँदा उनी राष्ट्रपति उम्मेदवार बन्ने लगभग पक्कापक्की जस्तै थियो । जुन सम्भावना गठबन्धनमा आएको एकैछिनको आँधीबेहेरी र प्रलयले क्षणभरमै भताभुंग पारिदिएको थियो ।

तर सम्भावनाहरूको खेलका रूपमा लिइने राजनीतिमा फेरि पनि नसोचेको घटना भएको छ । रामचन्द्र प्रतिकूल बनिसकेको राजनीति फेरि अनुकुल बनेर उनी मुलुकका तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । रामचन्द्र यस पटक आठदलीय गठबन्धनको तर्फबाट आफूलाई साझा उम्मेदवार बनाउन मात्र सफल भएनन्, असफलताको विम्ब बन्न लागेको उद्धराद्र्धको आफ्नो राजनीतिक करिअरलाई बेजोडसँग सुरक्षित अवतरण गराउनसमेत सफल भएका छन् ।

संघर्षपूर्ण राजनीतिबाट उदाएका रामचन्द्रले बिहीबार एमाले उम्मेदवार सुवास नेम्वाङलाई परास्त गर्दै निकालेको जित उनको लामो हारको श्रृंखलाको सुखद् अन्त्य थियो । हुन पनि, पछिल्लो एक दशकमा उनले राजनीतिबाट केही पाएका थिए भने त्यो सिबाय हार थियो । तर समयले करिब करिब उजाडिन लागेको रामचन्द्रको राजनीतिक जीवनमा एकाएक बहार ल्याएर संविधानको कुशल संरक्षक बन्ने मौका प्रदान गरिदिएको छ । जनताको यो भावनालाई राम्रैसँग बुझेका पौडेलले स्वयंले यसमा दायाँबायाँ हुन नदिने प्रतिबद्धता जनाइसकेका छन् ।

देशको कार्यकारी पद सम्हाल्ने मौका प्राप्त गर्ने अहिलेको अवस्था आइपुग्न भने रामचन्द्रले निकै उतारचढावपूर्ण संघर्ष गरेका छन् । पञ्चायत होस् या राजाको प्रत्यक्ष शासनकाल, उनका लागि प्रतिकूल समय थिए । राजनीतिक यात्राको दौरान उनले कहिले आँधी सहे, कहिले बेहेरी । त्यसो त, उनी राजनीतिको लाभांश उपयोग गरेर शिखर नचढेका होइनन् । परिस्थिति र भूमिका जस्तो भए पनि उनी सुखमा मात्तिएको र दःखमा आत्तिएको भने देखिँदैन । प्रजातन्त्र, शान्ति र विकासको पक्षमा अटल उभिरहेका देखिन्छन् । यसअर्थमा रामचन्द्रलाई राजनीतिको लामो रेसको घोडा भन्दा अत्युक्ति नहोला।

निकै उतारचढावपूर्ण राजनीतिक जीवन छिचोलेर देशको सर्वोच्च पदमा पुगेका रामचन्द्र मन्त्री, सभामुख हुँदै उपप्रधानमन्त्री सम्म भए । प्रधानमन्त्री बन्ने उत्कट चाहना पनि उनले पालेका थिए । त्याे भने पूरा हुन पाएन । राजनीतिक जीवनको यो दौरान उनको जीवनमा एउटा यस्तो घटना घटेको छ जुन उनको सन्दर्भ उप्किनेबित्तिकै जोडिएर आउने गर्छ ।

अनि गोल्छेले हात छोडे

०४६ को जनआन्दोलनपछि देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको थियो । राजा दललाई स्वीकार गरेर उनीहरूलाई समेट्ने गरी संविधान बनाउन राजी भइसकेका थिए ।

परिवर्तनकारी शक्ति सम्मिलित टिमले संविधान बनायो । निर्वाचन मिति घोषणा भयो ।

अन्तरिम सरकारमा राजाले प्रधानमन्त्री बनाएका थिए, कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई । उनको काँधमा प्रजातन्त्र संस्थागतका लागि कोसे ढुंगा मानिएको चुनाव सफलतापूर्वक गर्नुपर्ने अभिभारा आइलाग्यो । निर्वाचनमा दल र आफूलाई अनुमोदन गराएर पुनः प्रधानमन्त्री बन्ने सम्भावना पनि भट्टराई अगाडि थियो । तर चुनावी परिणाम उनका लागि निकै निराशाजनक रह्यो । भूमिगत जीवनबाट मूलधारको राजनीतिमा भर्खंरै पाइला हालेका मदन भण्डारीले उनलाई अनपेक्षित हार चखाइदिए ।

गिरिजाप्रसाद कोइराला पक्ष खुसीले गदगद भए पनि भट्टराई र उनी पक्षधर नेताका लागि निकै असहज अवस्था थियो त्यो । यहीबीच अचानक गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सरकारले भट्टराईनिकट भनेर चिनिएका रामचन्द्र पौडेललाई कृषि तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दियो । ०४६ सालअघि नेपाली कांग्रेसमा समाजवादी नीतिको व्याख्या गर्ने व्याख्यतामध्येका एक पौडेलले एउटा अखबारसँगको पुरानो अन्तवार्तामा उक्त जिम्मेवारीपछि केही गर्छु भन्ने हुटहुटी आफूमा पलाएको उल्लेख गरेका छन् ।

भनिरहनु परेन, रासायनिक मल हाम्रो स्थायी समस्या हो । त्यतिबेला पनि किसान मल नपाएर अहिलेजस्तै गरी प्रताडित थिए । सरकारले न्यूनतम दायित्व पूरा नगरेको गुनासो किसानबाट बरोबर आइरहन्थ्यो ।

कृषि मन्त्रालयको बागडोर सम्हालेकाले मल ल्याउने दायित्व रामचन्द्रको काँधमा थियो । त्यसका लागि सबैभन्दा पहिले अर्थ मन्त्रालयले बजेट दिनुपथ्र्यो । अर्थ राज्य मन्त्री थिए, महेश आचार्य । कोइरालानजिकका । मल खरिद निम्ति बजेट आवश्यक हुन्थ्यो तर उचित प्रबन्ध भइदिएन ।

बजेट नै नभएपछि मल समयमा आयात गर्न पौडेल नेतृत्वको मन्त्रालय असफल हुने नै भयो । रामचन्द्रले क्याबिनेटमा आफ्ना कुरा नसुनिएको तथा सोही क्याबिनेटका शिक्षा मन्त्री गोविन्दराज जोशीले खुरापात गरेपछि त्यो परिस्थिति उत्पन्न हुन पुगेको जनाउने गरेका छन् । गृह जिल्ला एउटै तनहुँ भएका यी नेता नेपाली राजनीतिका चिरपरिचित स्थायी शत्रूता भएका नेता हुन् । भ्रष्टाचारको वात् लागेर जोशी किनारा लाग्दासमेत उनीहरूको शत्रूता बीसको उन्नाईस हुन सकेको छैन । ठाउँ पाउँदा दुवै पक्ष कुनामा रहे अचेट्न र छेउ लागे घचेट्न तम्सिहाल्छन् ।

‘म गिरिजा ग्याङकाले जस्तो जस्तो हाट्हुट् गर्न नसक्ने मान्छे । क्याबिनेट बैठकमा मेरो कुरा कसैले सुन्दै नसुन्ने । त्यसमाथि मेरै जिल्लाका खुराफाती गोविन्दराज जोशीलाई पनि शिक्षा मन्त्री बनाएर हुलेका थिए गिरिजाबाबुले । मैले त्यो बेला बेलैमा मल आयात गर्न नसकेको पनि त्यै गोविन्देले गर्दा हो । उसले मेरो हरेक प्रस्तावमा भाँजो हाल्थ्यो । जोशीको शिक्षा मन्त्रालयमा बजेट पनि धेरै, त्यसमाथि दुनियाँ दिवाना आइएनजिओको पैसा पनि उनैलाई आउने । उनले आफ्नो क्षेत्र विस्तार गरे । मलाई खुम्च्याउन थाले । गिरिजाबाबु सबै कुरा बुझेर पनि चुप ! उनले मलाई किशुनजीको मान्छे, जासुसी गर्छ भन्ठाने क्यारे,’ तत्कालीन समयमा जिम्मेवारीअनुसार मल ल्याउन नसक्नुको कारणबारे सोधिएको प्रश्नमा एक पटक रामचन्द्रले भनेका थिए ।

गिरिजाका मन्त्रीबीचको झगडाले किसान चुप बस्नेवाला थिएनन् । त्यो उनीहरूको मतलबको विषय पनि भएन । यसले जताततै आक्रोसको आभा उत्पन्न गराइरहेको थियो । संसदीय राजनीतिमा नितान्त नयाँ एमाले जनताको मन जित्ने छिद्रको खोजीमा थियो, त्यतिबेला । उसलाई मसलेदार एजेण्डा चाहिएको थियो । त्यही बेला उत्पन्न ‘मल’ मामला उसका लागि ढुंगा खोज्दा देउता मिलेजस्तो भएको थियो । त्यसपछि त के चाहियो ? एमालेले संसदभित्र हंगामा मच्चाइ हाल्यो ।

समयमा मल ल्याउन नसक्नुको कारणबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने माग उनीहरूले राखे । विभागीय मन्त्रीका हैसियतले रामचन्द्र पौडेल कठ्घरामा उभिनुपर्ने भयो । ६० सदस्यीय तत्कालीन राष्ट्रियसभामा एमालेको सम्मानजनक स्थिति थियो । तर संसदीय अनुभवका हिसाबले उनीहरू नितान्त नयाँ थिए । रामचन्द्र राष्ट्रियसभामा उपस्थित भए ।

संयोग नै भन्नुपर्छ, रोस्टममा उभिएर रामचन्द्र बोलिरहेका बेला उनको सम्मुख गोल्छे सार्की सुनिरहेका थिए । योबीचमा उनीहरूबीच धेरै पटक हेराहेर भएको थियो । मनोवैज्ञानिक भ्रममा परेका गोल्छे मन्त्रीको यो शैलीले भित्रभित्रै मुर्मुरिरहेका थिए र उनको आगमनको प्रतीक्षामा थिए । जब रामचन्द्र भनाइ सकेर रोस्टम तल झरे, गोल्छे नजिकै पुगे र उनको गालामा एक चड्कन बर्साए ।

पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली (आर.के) यो घटनाले तत्कालीन समयमा हल्ली खल्ली नै मच्चिएको बताउँछन् । संसद्भित्र अमर्यादित हर्कत गरेपछि गोल्छेमाथि कारबाही गर्नुपर्ने माग पनि उठेको थियो । स्वयं एमालेभित्र पनि गोल्छेको यो हर्कतलाई लिएर आलोचना भयो ।

गीतसमेत बन्याे- रामचन्द्रलाा चड्कन हाने गाेल्छे सार्कीले ।

पछि अपरिपक्व गतिविधि गरेकाे भन्दै उनलाई कारबाही गर्ने माग केही एमालेले राखेका थिए । तर न एमालेले कारबाही गर्यो, न सरकारले । संसदभित्रको घटना भएकाले फासफुस भएको मैनाली बताउँछन् ।

‘एमालेबाट राष्ट्रियसभामा लगिएका गोल्छेले चड्कन हानेपछि उनीप्रति आक्रोस र रामचन्द्रप्रति सहानुभूति देखियो । कारबाही गर्नुपर्ने कुरा पनि आए । तर संसदभित्रको घटना भएकाले यो त्यत्तिकै सामसुम भयो,’ करिब करिब विष्मयको गर्तमा पुग्नै लागिसकेको तीन दशकअघिको उक्त घटनालाई मैनालीले गौर गरेर सम्झिए ।

एमालेबाट पलायन भएका गाेल्छे अहिले याे संसारमा छैनन् । केही वर्षअघि नै उनकाे मृत्यु भइसकेकाे छ ।

यो घटनालाई मलसँग जोडेर कतिपयले चर्चा गर्ने गरेका छन् । तर मैनाली यो सत्य नभएको बताउँछन् । उनका अनुसार, यो रामचन्द्र र गोल्छेबीचको पुरानो दुस्मनीको परिणाम थियो । उनीहरूबीचको त्यो दुस्मनी बुझ्न भने एउटा पुराना घटनामा जानुपर्ने हुन्छ ।

यो घटनाबारे जानकार मैनालीले त्यो पुरानो प्रसंगलाई यसरी सम्झिए :

०४८ मा रामचन्द्र कृषि मन्त्री छँदा गृह मन्त्री देशबाहिर गएपछि सरकारले त्यसको जिम्मेवारी पनि उहाँलाई दिएको थियो । यही बेला एमालेले गरेको एउटा आन्दोलन गरेको थियो । त्यो केसँग सम्बन्धित आन्दोलन थियो भन्नेचाहिँ मलाई अहिले ठ्याक्कै सम्झना भएन । त्यसमा गोल्छे सार्की पनि सहभागी थिए । राष्ट्रियसभामा एमालेतर्फबाट सांसद सार्की पक्राउ परे ।

मन्त्री विदेशबाट फर्किएपछि रामचन्द्र गृहबाट हटे । त्यसको केही समयपछि रामचन्द्रले राष्ट्रियसभामा सम्बोधन गर्नुपर्ने भयो । यसक्रममा गोल्छे र रामचन्द्र अमनेसामने भएका थिए । हाँसीहाँसी भाषण गर्ने क्रममा रामचन्द्र र बेञ्चमा रहेका गोल्छेबीच निकै पटक हेराहेर भइरहेको थियो । रामचन्द्रले यसरी हेरेपछि गोल्छेले आफूलाई हेपेर हेर्यो भन्ने ठानेछन् । जबकि, रामचन्द्रलाई यो कुरा थाहै थिएन ।
रामचन्द्रले अपमान गरेर हेरेको बुझाइमा रहेका गोल्छे रिसले चुर भएका थिए । मन्त्री आफ्नो सम्बोधन सकेर ड्यासबाट बेञ्चमा आउनै लाग्दा उनले एक चड्कन हिर्काइहाले ।

पछि यस्तो किन गरेको भनेर गोल्छेलाई सोधियो । जवाफमा उनले कार्यवाहक गृहमन्त्री हुँदा रामचन्द्रले नै गिरफ्तारी गराएको र त्यसपछि पनि निरन्तर हेपेको बताएका थिए । हातै हालेपछि रामचन्द्रको पक्षमा माहोल बन्यो । संसदभित्रको कुरा भएकाले प्रहरीसम्म भने पुगेन । उत्पीडित जातिका भएकाले गोल्छेलाई अरूले त्यति लखेट्न पनि सकेनन् । एमालेलाई पनि गोल्छेले गल्ती गरे भन्ने परेको थियो । तर कहिल्यै बैठकको एजेण्डा भने बनेन ।

ताजा अपडेट

नेपालवाच विशेष