NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बच्चाको उचाइ नबढेर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

एजेन्सी । प्रायः अभिभावकहरू बच्चाको उचाइलाई लिएर चिन्तित हुन्छन् । उमेरअनुसार उचाइमा वृद्दि नहुँदा अभिभावकमा एक प्रकारको डर नै पैदा भइरहेको हुन्छ । आखिर किन बढदैन त बच्चाको उचाइ ?

बच्चाको उचाइ नबढनुमा एकमात्रै नभइ अधिक कारण हुन्छन् । उनीहरूले खाने खानादेखि उनीहरूको आनिबानीसम्मले उचाइमा प्रभाव पारिरहेको हुन्छ । उचाइ बढ्नुमा ६० देखि ८० प्रतिशत आनुवंशिक तत्व हुन्छ, जसलाई मानिसले नियन्त्रण गर्न सक्दैनन् ।

यद्यपि, बच्चाको उचाइ अन्य धेरै तरिका अपनाएर बढाउन सकिन्छ । विज्ञहरूका अनुसार १८ वर्षको उमेरसम्म बालबालिकाको उचाइ चार प्रतिशतले बढ्छ । यो उमेर पछि, लम्बाइ बिस्तारै बढ्छ वा उचाई बढ्न रोकिन्छ । स्वस्थ आहार शरीरको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण छ । राम्रो पौष्टिक खानाले शारीरिक विकासमा समेत मद्दत गर्छ ।

त्यसैले बच्चाको खानामा सन्तुलित आहार समावेश गर्नुहोस् । यसको लागि योजना नै बनाउन सकिन्छ । बच्चालाई खुवाइने आहारमा भिटामिन र खनिज, दूध, फलफूल, ताजा हरियो सागसब्जी, मासु र कार्बोहाइड्रेटयुक्त खाद्य वस्तुहरु राख्न सकिन्छ । यो प्रकारको डाइटले बच्चाहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको विकास पनि उच्च गतिमा हुन्छ ।

यसैगरी, बच्चालाई नियमित योग गर्न सिकाउनुहोस् । यसले पनि बच्चाको उचाइ बढाउन फाइदा गर्छ । योगले शरीरमा रक्तसञ्चारकलाई सहज बनाउँछ । जसले उचाइ वृद्धिमा मात्रै नभएर उनीहरुको स्वास्थ्य र मांसपेशी पनि बलियो बनाउँछ । उचाइ बढाउन बालबालिकालाई साइकलिङ गराउने, डोरी खेल्न लगाउनेजस्ता कार्य गराउन पनि सकिन्छ ।

त्यस्तै, बच्चाहरुको निन्द्राले पनि उनीहरूको उचाइमा असर गर्छ । त्यसैले उनीहरूलाई निन्द्रा पूरा गराउन आवश्यक छ । निन्द्रा र शारीरिक विकास एक अर्कासँग जोडिएका छन् । निदाएको बेलामा ‘ग्रोथ हर्मोन’ निष्कासन गर्छ । जसले उचाइ वृद्धि गराउनमा मद्दत गर्छ । तर पर्याप्त निन्द्रा नआएमा उक्त हर्मोन निस्किँदैन ।

जसका कारण बालबालिकाको वद्धि रोकिन्छ । त्यसैले बालबालिकाको उचाईंको विकासका लागि ८ घण्टा सुत्नु आवश्यक छ । निन्द्रासँगै बालबच्चाको शरीरको मुद्रा पनि सहि हुन जरुरी छ । उनीहरूको हिँड्ने, बस्ने, उभिने र सुत्ने तरिका नमिल्दा पनि उचाइमा यसको प्रभाव पर्छ । सधैं सीधा बस्ने र सीधा मुद्रामा उभिने गर्नुपर्छ । टाउको र घाँटी निहुराएर हिँड्नु वा बस्नु हुँदैन। सही मुद्राले ६ इन्चसम्म उचाइ बढाउन मद्दत गर्छ।