NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एउटै पालिकामा एकै दिन दुई प्रशासकीय अधिकृत खटाएपछि…

काठमाडौं । सिरहाको दक्षिणी सीमावर्ती बरियापट्टी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिन दुई प्रशासकीय अधिकृतलाई खटाएपछि आधिकारिकताको विवादले कामकाज नै प्रभावित भएको छ । दुवै अधिकृत फरक–फरक सरुवाको चिठ्ठी लिएर गाउँपालिका पुगेका छन् ।

१४ फागुनमा मन्त्रालयले दिएको चलानी नम्बर १२६९ को पत्र बोकेर अशोककुमार सिंह प्रमुख प्रशासकीय अधिकृतको रूपमा आए । उनले गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्षहरूको उपस्थितिमा १६ फागुनमा हाजिर गरे । आफू हाजिर भएको जानकारी अधिकृत सिंहले सोही दिन च.न.१ ‘क’ को पत्रमार्फत मन्त्रालयका सचिवलाई जानकारी गराएको उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।

तर सिंह मन्त्रालयको सरुवा चिठीसहित गाउँपालिका आएर हाजिर भइसकेको अवस्थामा १४ फागुनकै चलानी नम्बर १३४० को पत्रसहित प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुजितकुमार यादव २९ फागुनमा गाउँपालिकामा हाजिर भएपछि विवाद चुलिएको छ ।

‘एउटा गाउँपालिकामा एउटै मन्त्रालयबाट एकै दिन दुई प्रशासकीय अधिकृतलाई कसरी कामकाज गर्न खटाइयो गाउँ कार्यपालिका आश्चर्यमा परेको छ,’ उपाध्यक्ष यादवले भनिन् ।

१६ फागुनमा हाजिर भएका अधिकृत सिंहलाई उपाध्यक्ष यादव तथा २९ फागुनमा हाजिर भएका यादवलाई अध्यक्ष सन्तोष महतोले साथ दिएपछि त्यसको मारमा सेवाग्राही परेको स्थानीयवासिन्दा बताउँछन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।