पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो ।
सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ ।
उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।’ तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए। सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ ।
अहिले करिब एक हजार पाँच सय भक्तजनले पूजापाठ गरिरहेको समितिले जनाएको छ । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।
घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । यस्तै ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ परेको जनाइएको छ । चार हजार दुई सय मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो सातादेखि नै हिमपात हुन सुरु भएको थियो । यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन । यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् ।
मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन् । त्यस्तै नगदे बाली अलैँची, तरकारीलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया