NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अर्थमन्त्री गगनलाई बनाउन देउवासमक्ष प्रधानमन्त्रीको प्रस्ताव, होला त कार्यान्वयन ?

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अर्थमन्त्री गगन थापालाई बनाउन कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

एमाले–माओवादी गठबन्धन भत्काउन महत्वपूर्ण भूमिका खेलेका थापालाई अर्थमन्त्री बनाउन देउवासमक्ष प्रस्ताव गरिएको कांग्रेसका एक शीर्ष नेताले बताएका छन् । ती नेताका अनुसार थापालाई अर्थमन्त्री बनाउन सकिए संकटपूर्ण अर्थतन्त्र सुधार गर्नका लागि सहयोग पुग्न सक्ने प्रस्ताव प्रचण्डले देउवासमक्ष राखेका थिए ।

गृहमन्त्रीसहित यसअघि एमालेले पाएको मन्त्रालय लिएर सरकारमा सहभागी हुने कांग्रेसले इच्छा देखाएको थियो । तर गृहमन्त्री आफैले राख्ने प्रधानमन्त्रीले अडान लिएपछि अर्थसहित एमालेले लिएकै साविक मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउन लागिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मन्त्रालय बाँटफाँटमा सत्ता गठबन्धन दलहरूबीच नै सहमति नभएकाले पार्टीको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा निर्णय नभएको महतले बताए ।

‘मन्त्रालय बाँडफाँटको विषयमा छलफल गर्न १० दलको बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्दैछ । यसअघि एमालेले लिएको मन्त्रालयमा हाम्रो दाबी छ । तर सबै दलहरूलाई चित्त बुझाउन पर्ने भएकाले एक÷दुई वटा मन्त्रालय तलमाथि हुन सक्छ । मन्त्रालय बाँडफाँटमा सत्ता साझेदार दलहरूबीच सहमति भएपछि मात्रै पार्टीबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्णय हुन्छ’, उनले भने ।

कांग्रेसभित्र अर्थमन्त्रीका लागि महतसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र ज्ञानेन्द्रबहादुर कार्कीले इच्छा देखाएका छन् । यद्यपि अर्थमा महतलाई पठाउने इच्छा देउवाको रहेको छ । प्रधानमन्त्री प्रचण्डले देउवासँगको भेटमा थापालाई अर्थमन्त्री बनाउन पठाउन प्रस्ताव गरिएको तर देउवाले ग्रीन सिग्नल नदिएको ती नेताको दाबी छ ।

पछिल्लो समय अन्य नेताको तुलनामा कांग्रेसभित्र कार्यक्षमता आधारमा थापा अब्बल नेता मानिन्छ । उनी यसअघि प्रचण्डकै सरकारमा स्वास्थ्यमन्त्री हुँदा लोकप्रिय कार्यक्रम लागु गरेका थिए ।

निर्वाचनअघि आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका थापाले कांग्रेस संसदीय दलको नेताको चुनावका सभापति देउवासँग पराजित भए । अहिलेको गम्भीर आर्थिक संकटको घडिमा थापालाई अर्थमन्त्री बनाउन सकिए अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त हुने, उनीसँग अर्थशास्त्री स्वर्णिम वाग्लेसहित विज्ञहरूको टिम नै भएकाले अर्थमन्त्री सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बुझाइ प्रधानमन्त्रीको छ ।

‘पश्चिमा राष्ट्रहरूसँग गगनजीको राम्रो सम्बन्धन छ । उहाँसँग स्वर्णिम वाग्लेसहितका अर्थतन्त्रबारे गहिरो ज्ञान भएका अर्थशास्त्री सहितका विषेशज्ञहरूको टिम छ । कार्यक्षमताका हिसाबले गगनजी अब्बल देखिनु हुन्छ । उहाँलाई अर्थमन्त्री बनाएर जाँदा आर्थिक संकट समाधानमा सहयोग पुग्न सक्छ’, प्रधानमन्त्रीको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।

कांग्रेस नेता जगदिशनरसिंह केसीले अर्थमन्त्रीमा प्रधानमन्त्रीले गगनलाई प्रस्तावको गरिएको स्वीकार गर्दै उनी तत्काल मन्त्री नबन्ने बताए ।

‘उहाँ प्रधानमन्त्रीको तयारी गरिरहनु भएको छ । प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेताको चुनावमा पार्टी सभापतिसँग प्रतिस्पर्धा गरेका नेताले मन्त्री भएर जानुहुन्न । गगनजीलाई अर्थमन्त्री बनाउ सकिए खस्किएको अर्थतन्त्र सुधार्न सकिन्छ कि भन्ने प्रधानमन्त्रीज्यूको चाहना हो । उहाँले अर्थमन्त्री पाउने सम्भावना देखिँदैन र मन्त्री भएर जानुपनि हुँदैन’, उनले भने ।

निर्वाचनपछि तत्कालीन देउवा÷प्रचण्ड गठबन्धन भत्किएपछि सभपतिसँग असन्तुष्ट पोख्दै आएका थापाले पछिल्लोसमय प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध सुधार गर्दै गएका छन् । ओलीको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई पुरानै गठबन्धनमा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । देउवाका कारण कांग्रेसले संघदेखि प्रदेशसम्म सबै सत्ता गुमाइसकको अवस्थामा उनकै निरन्तर प्रयासका कारण राष्ट्रपतिसहित गुमेको सत्ता कांग्रेसको हातमा आएको छ । कुनै बेला प्रचण्डका कटु आलोचक रहेका थापाले पछिल्लो समय उनको भूमिकाको निकै प्रशंसा गर्दै आएका छन् । राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको निर्णको प्रशंसा गर्दै प्रधानमन्त्रीमा उनलाई नै निरन्तरता दिनुपर्ने अडान राख्दै आएका थिए ।

‘प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुपर्ने कुनै बाध्यता थिएन । ओलीसँग मिलेर उहाँ प्रधानमन्त्री भइसक्नुभएको थियो । उहाँलाई कांग्रेससँग मिल्नुभन्दा एमालेसँग मिल्नुमै फाइदा थियो’, गत महिलना राजधानीको एक कार्यक्रममा उनले भनेका थिए, ‘एमालेसँग मिल्दा पनि उहाँले राष्ट्रपति पाउने थिएनन् । कांग्रेससँग मिल्दा पनि राष्ट्रपति पाउने होइन । तरपनि प्रधानमन्त्रीज्यूले एमालेसँगको सम्बन्ध तोडेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नुभयो । उहाँको योगदानलाई सबैले कदर गर्नुपर्छ ।’

प्रचण्डसँग थापाको सम्बन्ध विस्तारलाई कतिपयले प्रधानमन्त्रीका लागि तयारी गरिएको बुझाइ छ । पछिल्लो समय थापाको माओवादीसँग मात्र होइन एमालेका शीर्ष नेताहरूसँग पनि सम्बन्ध राम्रो रहेको छ । कम्युनिस्टकै सहयोगमा प्रधानमन्त्री बन्न चाहेका थापाले तत्काल प्रचण्ड सरकारलाई नै निरन्तरता दिने रणनीति उनले बनाएका छ । प्रचण्डपछि आफूलाई प्रधानमन्त्रीमा समर्थन जुटाउन सम्बन्ध सुधार गरिएको हुनसक्ने राजनीतिक विष्लेशकहरूको बुझाई छ ।