फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा १२ जनाको मृत्यु
मनिला । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् ।
गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।
लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन् ।
बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन् । पानीजहाजका यात्रीको नामसूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् ।
बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले छ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पु¥याइएको छ ।
तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ ।
सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया