NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

फेरि किन बढ्दैछ कोरोना ?

काठमाडौं । नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण उकालो लाग्न थालेको छ । लामो समय शून्यमा रहेको कोरोना संक्रमण गर्मीयाम सुरु भएसँगै पुनः बढेको हो ।

सोमबार मात्रै ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोनाभाइरस संक्रमण बढिरहेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकाले नेपालमा संक्रमण बढिरहेको बताउँछन् ।

सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन उनले आग्रह गरे । रोकथाम र नियन्त्रणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।

अधिकारीका अनुसार, चैत महिनामा २४ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।

ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् ।

“कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने ।