NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सुर्खेतका नगरप्रमुखसहित सातजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित पञ्चपुरी नगरपालिकाका तत्कालिन नगर प्रमुख उपेन्द्र बहादुर थापासहित सातजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यहाँको भेरीगंगा, पञ्चपुरी, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट हुँदै आएका कामको डुप्प्लिकेसन गरी नमुना समाज सुर्खेतले कामै नगरी भुक्तानी लिएको पाइएको छ ।

यससम्बन्धी परेको उजुरीमाथि छानविन गर्दा पञ्चपुरी नगरपालिका सुर्खेतले नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालन गगर्न नमुना समाज सुर्खेतसँग गरेको सम्झौतामा भ्रष्टाचार भएको पाइएको हो ।

तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय पित्रीभक्त गिरी, हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्तीमगर र नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामीविरूद्ध मुद्दा दर्ता भएको हो।

मेयर थापाले नगरपालिकाको कुनै बैठकले निर्णय नगरिकनै नमुना समाज सुर्खेतसँग सम्झौता गरेको पाइएको छ । उनले ५० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ ।

त्यस्तैगरि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गिरीले नमुना समाजले काम सुरु नगर्दै खर्च भएको रकमको बिल भरपाइ बिनै भुक्तानी दिएको पाइएको छ । उनलाई ३० लाख रूपैयाँ बिगो माग दाबी गरिएको छ ।

पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले अनसगमन नै नगरी रक भुक्तानीको लागि पेश भएको बिल भरपाई गरेकाले उनीमाथि २० लाख रूपैयाँ बिगो कायम गरिएको छ । लेखा अधिकृत मोहन बहादुर बुढालाई सार्वजनिक खरिद नियमावलीका प्रावधान विपरित नमुना समाजसँग सम्झौता गरेर ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ । उनलाई पनि सोही रकम बराबर बिगो मागदाबी गरिएको छ ।

लेखापाल अधिकारीले पनि भुक्तानीका लागि आएका बिलाको आधिकारिकता जाँच नगरेको पाइएको छ । उनलाई २० लाख रूपैयाँ मागदाबी गरिएको छ । त्यस्तै, नमुना समाजका निर्देशक मगर, अध्यक्ष पुलामी र नमुना समाजलाई बद्नियतपूर्ण काम गरेको ठहर गर्दै ५० लाख रूपैयाँ बिगो कायम गरिएको छ ।