NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

रुसले पायो सुरक्षा परिषद् अध्यक्ष, युक्रेन रुष्ट

काठमाडौं । रुसले संयुक्त राष्ट्र संघअन्तर्गतको सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गरेको छ । युक्रेनसँग एक वर्षभन्दा बढी समयदेखि युद्धमा रहेको रुसलाई १ अप्रिलदेखि उक्त जिम्मेवारी दिइएको हो ।

१५ सदस्य राष्ट्र रहेको सुरक्षा परिषद्मा एक–एक महिना आलोपालो अध्यक्षता गर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार रुसले उक्त जिम्मेवारी पाएको हो ।

अब रुसले अप्रिलभर सुरक्षा परिषद्को अध्यक्षता गर्ने छ । यसअघि सन् २०२२ को फेब्रुअरीमा पनि उसले यो भूमिका निर्वाह गरेको थियो ।

युक्रेनमाथि युद्ध जारी राखेको रुसले यो जिम्मेवारी पाएपछि उसले कस्तो भूमिका निर्वाह गर्छ भनेर चासोका साथ त हेरिएको छ नै सँगै आलोचना पनि चुलिएको छ । युद्ध अपराधको अभियोगमा रुसी राष्ट्रपतिलाई गिरफ्तारीको वारेन्ट जारी गरिएको सन्दर्भबीच रुसलाई यो जिम्मेवारी दिनु गलत भएको आलोचकहरूको तर्क छ । इन्टरनेश्नल क्रिमिनल कोर्टले गत महिना युद्ध अपराधीको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेको थियो ।

यो आलोचनाको दौडमा युक्रेन सबैभन्दा अग्रपंक्तिमा खडा भएको छ । युक्रेनका विदेशमन्त्री दमित्रो कुलेबाले यसबारे टिप्पणी गर्दै अप्रिल फुलका दिन गरिएको हालसम्मकै खराब मजाक भनेका छन् ।

‘रुसलाई अप्रिल १ बाट सुरक्षा परिषद्को अध्यक्षता गर्ने अवसर दिइएको छ । यो अप्रिल फुलका दिन गरिएको सबैभन्दा खराब मजाकमध्ये एक हो,’ उनले भनेका छन् ।