विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानुपर्ने बाध्यता
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ ।
खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन् । ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भनिन् । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ । विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ । पिउनलाई शुद्ध पानीको अभाव छ ।
‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मा अध्ययनरत कल्पना यादवले भनिन्, ‘विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछिन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् ।
विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन्। उनले भनिन्, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।’
३९ विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय । उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ । दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको पधानाध्यापक देव रानाले बताए । ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए।
पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ ।
माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया