NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

वैशाख १८ बाट खुल्ने भो तातोपानी नाका

काठमाडौं । तातोपानी नाका वैशाख १८ गतेबाट सञ्चालनमा आउने भएको छ । दुई देशका सुरक्षा निकायबीच सोमबार सम्पन्न द्विपक्षीय बैठकमा चीन वैशाख १८ गतेबाट नाका सञ्चालन गर्न सहमत भएको हो ।

यसअघि कोभिडका कारण लामो समयदेखि यो नाका सञ्चालनमा आउन सकेको छैन । नाका बन्द हुँदा यहाँबाट दुई देशबीच हुने वस्तुको आयात निर्यात प्रभावित हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार, १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने सहमति दुईबीच भएको छ । सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिने विषयमा पनि प्राथमिकतापूर्वक छलफल भएको उनले जानकारी दिए ।

त्यस्तै, दुई देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको जनाइएको छ ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । लामो समयदेखि नाका नियमित हुनसकेको छैन ।