NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जारी : लिम्बू समुदायको संस्कृति

काठमाडौं । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ ।

जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । ‘कब्बडी’ का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिए।

‘महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानविना बस्दैनन्’, निर्देशक सुब्बाले भने । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने÷आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रह समेत गरे । ‘लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का ९युप्पारुङ० दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ’, निर्देशक सुब्बाले भने, ‘कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो ।’

अभिनेता दयाहाङ राईले कथा पढ्दा नै उत्कृष्ट चलचित्र बन्ने विश्वास जागेको जानकारी दिए। ‘मेरो पात्रबारे कथामै स्पष्ट थियो । मेरो पात्र मायालु, रिसाहा, जिम्मेवार सबै छ । त्यसैले यो सम्पूर्ण भाव एउटै दृश्यमा ल्याउन सक्छु कि सक्दिन भन्ने पनि नलागेको होइन्’, अभिनेता राईले भने, ‘मेरो पात्रलाई जीवन्त बनाउन केही लिम्बू साथीसँग सल्लाह लिए, छलफल गरे । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’

अभिनेता राईले निर्देशक सुब्बासँग ‘कबड्डी’ देखि नै सहकार्य गरेका थिए ।  त्यो समयमा पटकथाकारको दायित्व निर्वाह गर्दा नै निर्देशक सुब्बाले चलचित्र बनाउने योजना सुनाएको अभिनेता राईले सम्झिए । ‘एकैपटक लेखिएको पटकथा ल्याएर मलाई दिनुभयो । मैले उहाँले बनाउन खोजेको चलचित्रलाई कथामा स्पष्ट देखेँ । मलाई यसमा काम गर्नुपर्छ भन्ने लागेर समय निकालेर गरेको हुँ’, उनले भने ।

अभिनेत्री मिरुना मगरले आफूभन्दा भिन्न जीवन बाँचेको बताइन् । ‘मैले काम गरिरहेको चलचित्रको चरित्र र चाहना फरक थियो । म यो समूहले कथा लेखिएको पात्रलाई पर्दासम्म कसरी ल्याएर जीवन्त बनाउँछन् भन्ने सोच्थे र काम गर्ने इच्छा थियो’, अभिनेत्री मगरले भनिन् ‘बनावटी स्वरूपभन्दा यसमा प्राकृतिक सुन्दरतामा प्रस्तुत भएकी छु । पात्रलाई महशुस गरेँ । बुझ्न पाएँ ।’

अभिनेता विजय बरालले लिम्बू समुदायअनुसारको चरित्रमा तयार हुँदा केही कठिनाइ भएको बताए । ‘म तराईको मान्छे, मधेस बुझेको छु । तर यहाँ लिम्बू देखिनु र बोल्नुपर्ने । मेहनत गरेर आफ्नो चरित्र तयार गरे। मलाई निर्देशक सुब्बाले सघाउनुभयो’, अभिनेता बरालले भने । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्रले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलिरहेको छ ।