गोरखा भूकम्पको आठ वर्ष : अझै पनि बनेन स्मृति उद्यान
गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो ।
भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण ग¥यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ ।
‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ,’ उनले भने, ‘त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।’ उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए । उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ ।’ त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिए ।
सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए । उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ,’ इञ्जीनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ उद्यान निर्माणको जिम्मा स्वच्छन्द/होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो ।
निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उहाँले बताउनुभयो । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए ।
उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ, उनले भने, ‘झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माणमा ढिलाइ हुँदा सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको उहाँले जानकारी दिए ।
बारपाक सुलीकोटमा सार्वजनिक बिदा
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।
बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।
ताजा अपडेट
-
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन


प्रतिक्रिया