NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रहरीमा काज विकृति रोक्न आइजिपीले थाले अभियान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा काज विकृति रोक्ने अभियान सुरु गरेका छन् । जसअनुसार उनले नियमविपरीत काजमा खटिएका प्रहरीलाई धमाधम दरबन्दीमा रवाना गराउन थालेका छन् ।

एक साताको अवधिमा करिब दुई हजार दुई सयको रवाना भइसकेको र दैनिकजसो यो चलिरहेको प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए । प्रहरी संगठनमा शुद्धीकरण गर्ने आइजिपी कुँवरको अभियानअन्तर्गत काज सरुवामा हुने विकृति रोक्न लागिएको प्रवक्ता जिसी बताउँछन् । एक महिनाअघि महानिरीक्षकमा नियुक्त भएका कुँवरले संगठनमा शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।

साथै सरुवामा पनि फारम भर्न अनिवार्य गरिएको छ । प्रहरी अधिकारीले आफूअनुकूल काज सरुवाका लागि विभिन्न व्यक्तिमाथि प्रहरी नेतृत्वलाई दबाब दिने प्रवृत्ति छ । त्यसलाई कम गर्न सरुवाको माग फारम नभर्नेको सरुवा नगर्ने नीति प्रहरीले कार्यान्वयन गरेको छ । प्रहरी नियमावलीमै भएको प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिएको एसएसपी जिसी बताउँछन् । मधेस प्रदेशको प्रहरी प्रमुखमा कार्यरत रहँदा तीन महिनाअघि कुँवरले त्यहाँ वर्षौँदेखि कार्यरत एक सयभन्दा धेरै प्रहरीलाई दरबन्दीमा पठाएका थिए ।

नेपाल प्रहरीमा सरुवा कार्यान्वयन नै प्रमुख समस्या बन्दै गएको छ । सरुवा भएकामध्ये १५–२० प्रतिशत सरुवा भएको ठाउँमा नगई सकेसम्म रवाना रोक्ने तथा काज गराएर आफूअनुकूल कार्यालयमा बस्ने गर्छन् । ‘सरुवालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकियो भने पनि पुलिसिङमा धेरै सुधार हुन्छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘प्रहरी नेतृत्व कमजोर हुँदा सरुवा कार्यान्वयन पनि कमजोर हुन पुगेको छ ।’ एकै कार्यालयमा लामो समय बस्ने प्रहरीको त्यहाँ खराब व्यक्तिहरूसँग साँठगाँठ हुने गरेकोसमेत पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।