NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

‘डाटा रिकभर’ भएन, लोक सेवाद्वारा पुनः दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले गत मंसिर, पुस र माघमा प्रकाशित विभिन्न तहको विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त बुझाएकाहरूको डाटा हराएएर अन्योल उत्पन्न भएपछि आयोगले पुनः सामेल हुन आवेदन आह्वान गरेको हो ।

आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका उम्मेदवारहरूलाई पुनः आवेदन दिन भनेको छ ।

आयोगका अनुसार, आगामी जेठ १८ गतेभित्र यस्ता आवेदकहरूले दरखास्त बुझाउन सक्नेछन् । यसअघि नै बुझाइसकेकाले शुल्क भने लाग्दैन  ।

आयोगले यसबारे उम्मेदवारको मोबाइलमा एसएमएस पठाएर पनि जानकारी  दिने तयारी गरेको छ ।

लोक सेवा आयोगले आफ्नो नियमित कार्यतालिकाअनुसार गत मंसिर, पुस र माघमा नायब सुब्बा, शाखा अधिकृतलगायत पदमा दरखास्त आह्वान गरेको थियो ।

आयोगले आफ्नो वेबसाइटको डाटा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) मा लगेर राखेको थियो । त्यहाँ राखिएका डाटा परीक्षा मिति नजिकिँदै जाँदासमेत रिकभर हुन सकेका छैनन् । निर्धारित परीक्षा कार्यक्रम प्रभावित हुने अवस्था सिर्जना भएपछि आयोगले विकल्पमा पुनः आवेदन आह्वान गरेको हो ।

लोक सेवाको जस्तै त्यहाँ राखिएका अन्य निकायको डाटा पनि हराएको छ । बिलाएका डाटा फर्काउन प्रयास भइरहेको बताइए पनि अहिलेसम्म सफल भएको छैन ।

यो प्रकरणपछि सरकारी डाटा सेन्टरको हविगत उदांगो बनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष