NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्री प्रचण्डविरूद्ध कर्णालीमा माधवले किन खोले फायर ?

काठमाडौं । सत्तारूढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार सहयात्री दल माओवादी केन्द्रसँग निकै आक्रोसित भए ।

सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र र कर्णाली माओवादीमा दम्भ बढ्दै गएको गुनासो पोखे । आफूले गठबन्धन टिकाउन मद्दत गरिरहँदासमेत आफूहरूलाई माओवादीले बाइपास गर्न खोजेको आरोप लगाए ।

‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दुःखी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरूको नामै लिएर उनले सरकार एकलौटी चलाएको आरोप लगाए ।

‘प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’
तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसँग विद्रोह गरी प्रचण्डसँग सहकार्य गर्दै आएका माधवले कर्णालीको राजधानीबाट एकैपटक राजनीतिक फाएर खोलेपछि त्यसले राजनीतिमा ठूलै तरंग ल्याएको छ ।

कर्णालीमा के भएको हो ?

संघ र कर्णालीमा अहिले माओवादी केन्द्रको नेतृत्वमा संयुक्त सरकार छ । प्रतिनिधिसभा सदस्यमा १० सिट जितेको नेकपा एसले कर्णालीमा १ सिट जितेको छ । मंसिरमा भएको प्रदेशसभा सदस्यमा रुकुमपश्चिमबाट निर्वाचित भएकी कल्याणी खड्का मन्त्री बन्न चाहेकी थिइन् । तर मुख्यमन्त्री राजकुमार शर्माले माओवादी र कांग्रेसलाई मात्र समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिए ।

८ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्मन्त्रीसहित ५ जना र कांग्रेसबाट तीन जना मन्त्री भए । आफूसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिएको, सत्ता सञ्चालनमा एकलौटी गरेको, नेकपा एसलाई वेवास्था गरेको लगायका विषयमा प्रदेशका नेताहरू अध्यक्ष नेपालाई रिर्पोटिङ गरेका थिए । त्यहि रिर्पोटिङका आधारमा नेपाल माओवादी केन्द्रसँग आक्रोसित भएका हुन् ।
तर कर्णालीका आन्तरिक मामिलामन्त्रीसमेत रहेका माओवादीका नेता कृष्णबहादुर जिसीले नेपालले लगाएको आरोपको खण्डन गरेका छन् । पूर्वप्रधानमन्त्री भइसकेका राष्ट्रिय नेताले सहयात्री दलमाथि आक्षेप लगाउनु उचित नभएको उनले टिप्पणी गरे ।

‘कर्णाली प्रदेशमा नेकपा एसको एक सिटमात्र छ । खड्काजीलाई प्रदेश मामिला समितिको सभापति दिने सहमत भएको छ । उहाँ मन्त्री नै बन्न चाहेको कुरा हामीसँग गर्नुभएको छैन’, पूर्वप्रधानमन्त्रीसमेत भइसकेका राष्ट्रिय नेताले सहयात्री दलमाथि आक्षेप लगाउनु सोभनीय भएन । उहाँको आक्रोश के मा हो हामीले बुझ्न सकेका छैनौं ।’

नेपालको अभिव्यक्तिको बचाउ गर्दै सदस्य खड्काले कर्णालीमा माओवादीको दम्भ र घमण्ड बढ्दै गएको आरोप लगाइन । आफ्नै पार्टीभित्र विद्रोह गरेर माओवादीलाई सरकार पुर्याउन सहयोग गरेको भएपनि अहिले त्यसको अबमूल्यन भएको उनको गुनासो थियो ।

‘हामीले व्यवस्था परिवर्तन गर्यौं तर अवस्थामा कुनै परिवर्तन आएन । आफ्नै पार्टीभित्र विद्रोह नगरेको भए आज कांग्रेस र माओवादीले सत्ताको नेतृत्व गर्न पाउनुहुन्थ्यो ? हामीले कुनै मन्त्री वा पद खोजेको होइन । हामीलाई पुरै बाइपास गरेर जानुभयो । सिट संख्यामा हाम्रो कम होला तर राजनीतिमा हाम्रो योगदान यति छिट्टै भुल्न मिल्छ ? समस्यालाई कर्णालीसँग मात्र जोडेर हेर्न मिल्दैन । हामीले साथ छोडेको खण्डमा गठबन्धन धरापमा पर्नेछ’, उनले भनिन् ।

२७ पुसमा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका शर्माले तेस्रोपटक वैशाख १५ गते विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शर्माले ६ माघमा पहिलोपटक विश्वासको मत पाएका थिए । त्यतिबेला एमाले र राप्रपासहितले विश्वासको मत दिएका थिए भने कांग्रेस प्रतिपक्षमा थियो ।

संघमा सत्ता समीकरण बदलिएसँगै राप्रपाले विश्वासको मत फिर्ता लिएपछि १७ फागुनमा शर्माले दोस्रोपटक विश्वासको मत पाए । योपटक पनि एमालेसहित गठबन्धनबाट विश्वासको मत पाएका थिए । तर समर्थन फिर्तासहित सरकारबाट एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी भएको थियो । ४० सदस्यीय प्रदेशसभामा उनलाई माओवादी केन्द्रका १३, कांग्रेसका १४, समाजवादीको १ र १ स्वतन्त्र गरी २९ जनाले मत दिए । विपक्षमा एमालेको १० र राप्रपाको एक सदस्य छन् ।

प्रचण्डसँग माधवको असन्तुष्टी

संघमा दुई मन्त्रालयसहित प्रचण्ड सरकारमा सहभागी भएको एकीकृत समाजवादीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई बाइपास गर्दै लगेको नेपालको गुनासो छ । कम्तिमा ४ मन्त्रालय आफूले पाउनुपर्ने नेपालले दाबी गर्दै आएका थिए । तर गठबन्धन दल सबैलाई चित्त बुझाउनु पर्ने भन्दै प्रधानमन्त्री नेकपा एसलाई दुई मन्त्रालय दिए । अहिले एकीकृत समाजवादीबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री उपाध्यक्ष बेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपमहासचिव प्रकाश ज्वाला छन् ।

भविष्यमा पार्टी एकतासहित एउटै समाजवादी मोर्चा बनाएर जाने सहमति गरेका माओवादी र एकीकृत समाजवादीबीचको कटुतता सतहमै पोखिएपछि प्रचण्ड थप अप्ठ्यारोमा परेका छन् । एकातिर कांग्रेस र माओवादीरहित एमालेले सत्ता समीकरण बनाउने पहल गरिरहेको छ । अर्कोतिर सत्ता गठबन्धन दलभित्रै शक्ति संघर्षका कारण प्रचण्ड सरकार ढल्ने हो कि भन्ने आशंका पैदा भएको छ । गठबनन्धभित्र देखिएको चरम असन्तुष्टीलाई हल गर्न प्रधानमन्त्री प्रचण्डले ५ दलको बैठक बोलाएका छन् । सरकारमा सहभागी भएका ५ दलको बैठकले रास्वपा, जसपा र जपा लगायतका असन्तुष्टीलाई हल गरिने प्रधानमन्त्रीका साचिवालयले जनाएको छ ।