NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कञ्चनपुर औलोको उच्च जोखिममा

बेदकोट । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्’, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।’ आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् ।

‘वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ’, उनले भने, ‘औलो निवारण गर्नका लागि कीटनाशक झूल वितरण र विषादी छर्किंदैछौँ ।’ सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७/७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८÷७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो सङ्क्रमण देखिएको थियो । महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

‘भारतबाट काम गरेर फर्किनेहरुमा औलो रोगको सङ्क्रमण बढी छ’, उनले भने, ‘अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो सङ्क्रमण देखिएका छन् ।’ कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक/एकजना औलाका बिरामी फेला परेका छन् ।

कीटनाशक झूल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए। ‘प्राथमिकता निर्धारण गरेर कीटनाशक झूल र विषादी छर्किरहेका छौँ’, उनले भने, ‘माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ ।’

सुरुआतमा औलो प्रभावित भीमदत्त नगरपालिकाको बाराकुण्डा, ब्रह्मदेव, कृष्णपुर, बेलौरीलगायत केही ठाउँमा कीटनाशक झूल वितरण गरिने छ ।