NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि

काठमााडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’ मा उनले पछिल्लो समय काठमाडौंभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताएका हु्न् ।

‘काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ’, उनले भने । डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ ।

काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताए । प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष