NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चैत्रमा झन् बढ्यो महंगी

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को चैत्र महिनामा फागुनको तुलनामा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । फागुनमा यस्तो उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।

वार्षिक बिन्दुगत आधारमा समेत मूल्यवृद्धि बढी छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी महंगी काठमाडौं उपत्यकामा

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत छ । त्यस्तै तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति

चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ०.२१ प्रतिशत, ८.८८ प्रतिशत र ५.१८ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.१४ प्रतिशत रहेको छ ।