NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढ्यो : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको बताएका छन् ।

सोमबार नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो बताएका हुन् । उनले पछिल्लो अर्थतन्त्रमा देखिएको संकट देखाउँदै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने संकेतसमेत गरेका छन् ।

‘स्वास्थ्य बीमाको क्लेम राज्यले धान्नै नसक्ने अवस्थामा रहेकोले आगामी दिनमा स्वास्थ्य बीमा जस्तो जनतासंग जोडिएको महत्वपुर्ण विषय राज्यले व्ययभार थेग्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

अर्थमन्त्री महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताए ।

‘पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ,’ उनले भने ।

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उनको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए । ‘यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन ।  बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए/नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ,’ उनले भने ।

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ ।