इतिहास बन्दै ढिकी जाँतो
गल्याङ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।
बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।
‘बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्यो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो,’ गल्याङ नगरपालिका–११, भाटीकी ७९ वर्षीय वसन्ती सोमै मगरले भनिन्, ‘हिजोआज बिजुलीबाट चल्ने मिल आएपछि सुविस्ता भएको छ ।’
‘ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो हुन्थ्यो, बिजुलीमा पिसेको खाना नमीठो हुँदोरैछ,’ उनले भने, ‘हामीले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका छन् ।’
भाटीमै बस्ने लीला सोमै मगरले कुटानी–पिसानीको काम गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको बताइन् । ‘ढिकी–जाँतो गर्ने काम मैले पनि बेहोर्नु प¥यो, टाढा पुगेर दुई–तीन घन्टा पालो पर्खेर पानी ल्याउनु पथ्र्यो, ढिकी–जाँतो गर्दा, पानी बोक्दामै दिन जान्थ्यो,’ उनले भनिन् ‘अहिले धेरै सहज भएको छ, हामी समयमा स्कुल जान नपाए पनि छोराछोरी समयमा स्कुल जान र पढ्न पाएका छन् ।’
सोही ठाउँकी पार्वती पल्ली मगरले ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा (बटुक) बनाउने गेडागुडी कुट्न र पिस्न नपाएको बताइन् ।
‘ढिकीमा कुटेर बनाएको बटुक निकै स्वादिलो हुन्थ्यो, ढिकीमा कुटेर बनाइएको सेलरोटी काँडेदार र आकर्षक हुन्थ्यो, पहिले घरघरै हुने ढिकी, जाँतो अहिले सात गाम डुल्दा पनि पाइँदैन,’ उनले भनिन्, ‘गाउँमा एउटामात्र ढिँकी छ, त्यही पनि उक्काएर फाल्न खोजेका थिए, पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेका छौँ, त्यही पनि राम्रोसँग काम गर्दैन ।’
भाटीकै मनिसा पल्ली मगरले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताइन् । ‘बिहान घरको काम गरिन्छ, दिउँसोमा कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिल्छ,’ उनले भनिन्, ‘समय बचत भएकाले सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन पनि गरेकी छु ।’
गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा छ, गल्याङ नगरपालिका–११, का अध्यक्ष दलबहादुर सिञ्जालीले ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो लोप हुँदै गएकाले वडाले संरक्षणको अभियान थाल्ने बताए ।
उनले भने, ‘हिजो मानिसका अभावका सारथी, आज मासिन हुँदैन, गाउँमा त्यस्ता चीज हराउँदै गएकाले चिन्ता बढाएको छ ।’ ‘हाम्रो वडामा मगरहरुको बाहुल्यता छ, मगर समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन्,’ उनले भने, ‘नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, वेशभूषा, परम्परा र संस्कार थोरैधेरै बजेट विनियोजन गरेर बचाउने योजना छ ।’
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया