NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ११ गते

कस्तो छ चलचित्र ‘डाकिनी’ ?

काठमाडौं । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ ।

बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल्याङ्कन । कुनै दबाब नहुँदा चलचित्र कस्तो बन्ला ? यसको उदाहरण हो– ‘डाकिनी’ ।

बौद्धधर्मका गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ‘डाकिनी’ प्रदर्शनका लागि नेपालमा छन् । विश्वभरका चलचित्रप्रेमी दर्शकमाझ उनी निर्देशित ‘द कप’, ‘ट्राभल्स एण्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका चलचित्र लोकप्रिय छन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत विश्वभर प्रदर्शन भएको चलचित्रमा बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का कथा छन् । देवीको खोजीको कथा खोजिने चलचित्रमा बौद्धग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । नेपालमा यो सीमित चलचित्र भवनमा मात्र प्रदर्शन गरिएको छ ।

नेपालका निर्माता षट्कोण आर्टसको निम्तोमा नेपाल आइपुगेका निर्देशक नोर्बुले सरल चलचित्रको बारेमा आफ्ना विचार राखे । ‘हामीले हेर्ने चलचित्रमा हलिउड शैली हुन्छ । त्यो पनि परम्परागत । त्यहाँ सबै किसिमको भाव मिसाइएको हुन्छ’, उनले भने, ‘हामीलाई त्यस्ता चलचित्र हेर्ने बानी परिसकेको छ । त्यसैले अभिनेता वा नकारात्मक भूमिका गर्नेको बारेमा हाम्रो विचार पहिले निर्माण हुन्छ । हामीलाई त्यो भाष्य शैलीमा हलिउड र बलिउडका चलचित्र प्रशस्तै प्रस्तुत गरिसकेका छन् ।’

आफू निर्देशित चलचित्र हेर्नु अगाडि नै केही खास घटनाक्रम नहुने नोर्बुले बताए । ‘मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन् । त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ । यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु’, उनले भने।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सके मात्र फरकपन महसुस हुने नोर्बुँको भनाइको तात्पर्य थियो । नेपाली र तिब्बती भाषामा रहेको चलचित्र लगभग १० करोडमा तयार भएको हो । यो चलचित्र बजारको निर्देशनबिना तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको निर्मातामध्येका एक दिपेश खत्रीले जानकारी दिए ।

‘चलचित्र निर्माणको समयमा बजारको चिन्ता थिएन । त्यसैले स्वतन्त्र रहेर काम गर्न पायौँ । कुनै दबाबलाई महसुस नगरी निर्माण भयो । अहिले प्रदर्शन पनि सीमित चलचित्र भवनमा सीमित शोमा मात्र छ’, निर्माता खत्रीले भने ।

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ ।