NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लोकसेवाको गल्तीले २ जनाको एउटै सिम्बोल नम्बर, नाम निस्किएपछि लफडा

काठमाडौं । लोक सेवा आयोगले भुलवश दुई परीक्षार्थीलाई एउटै सिम्बोल नम्बर दियो । तिनले त्यही सिम्बोल नम्बरबाट परीक्षा दिए । यहाँसम्म सबै ठीक ठाक नै थियो । जब यही सिम्बोल नम्बरमा परीक्षा दिनेको नाम निस्कियो, तब यो मामला टाउको दुखाइको विषय बन्न पुगेको छ ।

घटना नेपालको भने होइन, छिमेकी मुलुक भारतको हो । अनौठो प्रकृतिको घटना सतहमा आएपछि भारतभर यसले अहिले चर्चा पाइरहेको छ ।

भारतको संघ लोक सेवा आयोग (युपिएससी) ले निजामती सेवा २०२२ को परीक्षाको नतिजा मंगलबार मात्रै सार्वजनिक गरेको छ । यो परीक्षामा एकै नाम गरेका (थर भने फरक) दुई छात्रा आयशा फातिमा र आयशा मकरानी मध्य प्रदेशबाट सहभागी थिए । परीक्षामा सामेल हुन उनीहरूलाई लोक सेवाले अलग अलग सिम्बल दिनुपर्ने थियो । तर भुलवश एउटै दिइयो ।

भारतीय सञ्चारमाध्यमका अनुसार, ७८११७४४ सिम्बोल नम्बर अन्तिम नतिजामा समेटिएका छन् । संयोग कस्तो भने दुवैले हासिल गरेको र्यांकिङ समेत समान १८४ छ । परिणामपछि दुवैले उक्त व्यक्ति आफू नै भएको भन्दै नियुक्तिका निम्ति दाबी पेस गरेका छन् । जसले रोचक मोड लिइरहेको छ ।

यी दुईमध्ये कसको दाबी सही हो ? अनुसन्धानबाट पक्कै पत्ता लाग्ने नै छ । तर यसबारे टुंगो नलाग्दै दुवैले सफल भएको अवसरमा परिवारका सदस्यसँग उत्सव मनाइसकेका छन् ।

नाम निकाल्ने यी दुई छात्रामध्ये एउटा देवास र अर्की अलिराजपुरकी हुन् । अलिराजपुरका आयशा मकरानीका दाइ सिभिल इन्जिनियर शाहबाजुद्दीन मकरानीले आमाको आइएएस बनोस् भन्ने चाहना पूरा गर्न आफ्नी बहिनीले कडा मिहिनेत गरेर नाम निकालेको दाबी गरेका छन् । लोक सेवा आयोगले अन्याय गरेर आफ्नी बहिनीलाई नियुक्तिपत्रबाट वञ्चित गरेको अवस्थामा आफू अदालत जाने उनको चेतावनी छ ।

उता, देवासकी आयशा फातिमाका बुबा नाजिरुद्दीनले पनि आफ्नी छोरी मात्र छनोट भएको दाबी गरेका छन् ।

यस्तो परीक्षामा एउटै रोल नम्बर दिन असम्भव रहेकाले कसरी यस्तो हुन पुग्यो भन्ने विषयमा भारतमा बहस सुरु भएको छ । कतिपयले दुईमध्ये एकको प्रवेशपत्र नक्कली हुनसक्ने आशंका गरेका छन् । तर यसबारे अहिलेसम्म अनुसन्धान भने अघि नबढेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष