NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मसँगै कुरै नगरी समाचार बनाइयो, चरित्र हत्या जारी राखे मुद्दा हाल्छु : ढाकाकुमार 

काठमाडौं । रकम माग गरेको अडियो प्रकरणपछि सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफूले सांसद बन्न ३ करोड रूपैयाँ बुझाएको भनेर प्रकाशित समाचार शत प्रतिशत झुटो, कपोलकल्पित र आधारहीन भएको बताएका छन् । आफूसँग कुरा नै नगरी सञ्चारमाध्यमले समाचार बनाएको प्रष्ट पार्दै उनले चरित्रहत्याको श्रृंखला जारी राखेमा कानूनी उपचारमा जाने चेतावनी दिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादपछि रास्वपाबाट कारबाहीमा परेका श्रेष्ठलाई ‘कोट’ गरेर ‘समानुपातिक सांसद बन्न पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकाललाई तीन करोड रूपैयाँ बुझाएको हुँ’ भन्ने बेहोराका समाचार एक अनलाइनले प्रकाशित गरेको थियो । समाचार प्रकाशनपछि यो विषय प्रतिनिधिसभामा समेत प्रवेश गरेको थियो । यसले विवाद उत्पन्न गराएपछि उपसभापति डीपी अर्याल र ढकालले मानहानिको मुद्दा दर्ता गर्ने चेतावनी दिएका थिए ।

‘केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोधसमेत नगरी तथा मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’

श्रेष्ठले निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्न स्मरण गराउँदै आधारहीन समाचार सम्प्रषण नगर्न समेत ध्यानाकर्षण गराएका छन् । अन्यथा  कानूनी उपचारमा जाने उनको भनाइ छ ।

‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछ,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष