इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

काठमाडाैं । भेरी करिडोर तथा अन्य सडकमा इजाजतबिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ ।
रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्र रुपमा सेवा दिन थालिएको हो । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनमा निगरानी गर्न थालिएको छ । ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको कार्यालय प्रमुख आनन्द चपाइँले बताए ।
कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सञ्चालन हुन लागेको उनको भनाइ थियो । कार्यालय प्रमुख चपाइँका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलङ्गाबाट तल्लुसम्म ६५ किलोमिटरमा चल्ने सवारीसाधनमा चालकले अनुमति नलिइ चलाएको अवस्था छ । तल्लुबाट डोल्पासम्म चल्ने सवारीसाधनसमेत अनुमति बिनानै सञ्चालन भएको उहाँले बताए । सवारीसाधनमा आलोपालो लगाएर यात्रुलाई हैरान बनाएको अवस्था छ । कार्यालय प्रमुख चपाइँ डोल्पा जाँदा उनकै गाडीलाई समेत निगरानी गरिएको थियो । कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए । अहिले पछिल्लो समय चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनोमानी रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमख चपाइँले बताए ।
इजाजतपत्र नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उनको भनाइ थियो । योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसन्स नवीकरणका काम गर्ने गरिएकामा अब चौरजहारीबाटै सबै काम हुने गरेको छ । भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड लागेको छ । अब ट्रायल दिने कामसमेत छिटै सञ्चालन हुने बताएको छ ।
नयाँ सहर निर्माण कार्य जारी रहेको चौरजहारीबाट यातायात व्यवस्था कार्यालय स्थापनासँगै सबैलाई सेवा लिन सहज भएको छ । धेरै खर्च गरेर सुर्खेत जानुपर्ने अवस्था अन्त्य भएको छ । यातायात सेवामा जथाभावी गर्नेविरुद्ध निगरानी बढिरहेको छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया