अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुर । जिल्लाको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ ।
गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।
नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, “भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ ।”
नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताए ।
“आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौँ,” उनले भने, “सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ ।”
कटारी नगर क्षेत्र उदयपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ । यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले ज्यान गुमाउने गरेका छन् ।
यसअघि कटारी –३ को ताराघारीमा नेपाली सेनाको क्याम्प रहेको र त्यही सर्पदंश उपचार केन्द्र थियो । उक्त क्याम्पताराघारीबाट कटारी–१ कै वेलसोतस्थित आर्मी क्याम्पमा सरेपछि कटारी बजार क्षेत्रका लागि टाढा भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताइन् । उनले भनिन्, “यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको हो ।”
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया