NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

भैँसी पालेर सफल उद्यमी

दाङ दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उनलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ ।

उनी मात्रै होइन, परिवारका दुई सदस्य पनि यसैमा संलग्न छन् । त्यसबाहेक दुई जना स्थानीयलाई पनि उनले जागिर दिएका छन् । ‘वार्षिक करिब रु सातदेखि आठ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ,’  उनले भनिन् ।

उनको दिनचर्या मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ र भैँसीका पाडापाडीको स्याहारमै बित्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिक भैँसीपालन सुरु गरेकी हुन् । ‘सुरुमा रु एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ, अहिले फर्ममा साना र ठूला गरी ३८ भैँसी र पाडापाडी छन्,’ उनले भनिन् ।

जसमध्ये हाल १३ वटा भैँसीले दूध दिइरहेका छन् । ती भैँसीबाट दैनिक ९० देखि एक सय लिटर दूध तुलसीपुर बजारममा डाँगी आफैले सञ्चालन गरेको डेरीमार्फत बिक्री भइरहेको छ ।    कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परे पनि अहिले भने कुनै समस्या नभएको उनको भनाइ छ । दाङमा अहिले दूधको फुटकर मूल्य प्रतिलिटर रु एक सय र दहीको रु एक सय १० पर्छ ।

डाँगीको भैँसी फर्ममा हालसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी भइरहेको छ । घाँसको पर्याप्त उपलब्धता नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागतखर्च बढेको पनि डाँगीको भनाइ छ ।