NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

इलाम । इलामको लारुम्वाक पुष्पा राईले दमकमा सिलाइबुनाइ व्यवसाय सुरु गरेकी छन् । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गरेकी छन् ।

लामो समयसम्म बेरोजगार उनलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)बाट लिएको निःशुल्क तीन महिने सिलाइबुनाइ तालिमले व्यवासय सुरु गर्न सक्ने गरी सक्षम बनाएको हो ।

इभेन्टसँगको सहकार्यमा दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सिलाइ बुनाइसम्बन्धी ‘लेभल १’ को तालिम सञ्चालन गरेसँगै सोही तालिममा सहभागी बनेकी राईले सीप सिकेसँगै अहिले घरमै सिलाइबुनाइ व्यवसाय सञ्चालन गरेकी छिन् । जसबाट उनी आफैं स्वरोजगार बन्दै मनग्य आम्दानी गरिरहेकी छिन् ।

‘निःशुल्क तालिम नलिएको भए म यतिबेला विदेशमा हुने थिएँ । तर, तालिम लिएपछि आफ्नै ठाउँमा उद्यमी बन्न पाएकी छु यसैमा म गर्व गर्छु,’ राईले भनिन् ।

दमक नगरपालिका–८ निवासी कविता मोतेले इभेन्ट परियोजनाद्वारा प्रदान गरिएको निःशुल्क सिलाइबुनाइ तालिम लिएर अहिले दमकमा माया टेलर्स सञ्चालन गरेकी छिन् । मोते एकल महिला हुन् । श्रीमानको निधनपछि उनलाई घर चलाउन सहज थिएन । तर, इभेन्ट परियोजनाले प्रदान गरेको सिलाइबुनाइसम्बन्धी निःशुल्क तालिमले उनको जीवनले नयाँ मोड लिएको छ । स्वरोजगार नहुँदा सामान्य घरखर्च चलाउनसमेत समस्यामा पर्ने भए पनि अहिले अरुलाई समस्या पर्दा सहयोग गर्न सक्ने भएकी छिन् ।

एक वर्षअघि यो व्यवसाय सुरु गरेकी उनले अहिले अरुलाइसमेत निःशुल्क प्रशिक्षण प्रदान गर्न सुरु गरेकी छिन् । दैनिक औसतमा रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ हुन थालेपछि हाल मासिक रु ३० हजारसम्म बचत हुन थालेको उनको भनाइ छ ।

सुरुमा दौरा सुरुवाल, टोपी, भोटो, ब्लाउज सिलाए पनि अहिले अन्य पोषाक पनि सिलाउछिन् । मेतेसँगै सोही ठाउँ निवासी सन्ध्या श्रेष्ठ पनि अहिले सोही व्यवसायमा आबद्ध छिन् । इभेन्ट परियोजनाले उपलब्ध गराएको तालिमले नै उनलाई पनि स्वरोजगार बनाएको छ ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारले सुरु गरेको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)बाट तालिम लिएर आत्मनिर्भर बन्ने झापामा धेरै छन् । जसमध्ये कमल गाउँपालिका निवासी सुमन बाँस्कोटा पनि एक छन् । उनले मोबाइल रिपेयरिङसम्बन्धी तालिम लिएर अहिले मनग्य आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेपनि रोजगारीबाट फर्किएसँगै उनले सीप सिकेका हुन् । तालिमप्राप्त गरेपछि धेरै युवाहरुलाई विदेश जानुको विकल्प प्राप्त भएको छ । स्वदेशमै केही गर्नका लागि हातमा सीप भएपछि विदेश जानै पर्ने बाध्यता पनि हटेको छ ।

उनका अनुसार सीप सिकेपछि काम खोज्दै विदेश जानेभन्दा स्वरोजगार हुने धेरै छन् । तर आफूलाई भने मोबाइल रिपेयरिङसँगै आफू मोबाइलको मार्केटिङ पनि गर्ने भएकाले आर्थिकरुपमा समस्या नभएको उनको तर्क छ । ‘यसअघि हातमा सीप थिएन त्यसैले विदेश जानुको विकल्प थिएन, तर अहिले सीप र बजार दुवै भएकाले विदेश जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने ।

इभेन्ट परियोजनासंग सहकार्य गर्दै दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सन् २०१७ बाट सुरु गरेको सीप विकाससम्बन्धी तालिममा सहभागी गराएर सात सयभन्दा बढी युवा स्वरोजगार बनेको दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिका प्रिन्सिपल श्यामकुमार विष्टको भनाइ छ ।

‘ग्रामीण क्षेत्रका विपन्न, पिछडिएका, सिमान्तकृत, अतिसिमान्तकृत, आदिवासी जनजाति, महिला र एकल महिलालाई प्राथमिकतामा राखेर हामी काम गरिरहेका छौँ,’ उनले भने, ‘ निःशुल्क तालिम लिएपछि धेरै बेरोजगार युवा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी प्रदान गर्न सक्ने हुनुभएको छ ।’

इभेन्टसँगको सहकार्यमा आफूहरुले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै विल्डिङ इलेक्ट्रिसियन, सिलाइकटाइ, ब्युटिसियन, कम्प्युटर हार्डवेर टेक्निसियन, मोबाइल रिपेरियरसम्बन्धी तालिम दिइरहेको उनको भनाइ छ । ‘टेलरिङ र सिलाइबुनाइ व्यवसाय सुरु गर्नेमध्ये अधिकांशले मासिक रु ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ,’ उनले भने, ‘निःशुल्क तालिमले धेरैलाई स्वरोजगार बन्न सहयोग गरेको छ ।’