NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

लामो समयपछि कारोबार रकम ५ अर्ब नाघ्यो, यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.४२ अङ्कले उकालो लागेर २०३७.०६ मा पुगेको छ ।

आज नेप्से बढेसँगै कारोबार रकमसमेत बढेको छ । नेप्सेमा लामो समयपछि कारोबार रकम ५ अर्ब नाघेको छ । आज २७५ स्टकको ६९ हजार ४६१ पटक कारोबारमा एक करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब एक करोड ७८ लाख ७ हजार ६८२ रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ वटा उपसमूहमध्ये ६ उपसमूह घटेका छन् भने बाँकी बढेका छन् ।

घटेका उपसमूहरूमा विकास बैंक ०.९६, वित्त ०.९२, होटल तथा पर्यटन ०.९३, लगानी ०.५४, नीर्जीवन ०.६३ र व्यापार ०.७७ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा बैंकिङ १.२९, जलविद्युत ०.४७, जीवन बीमा १.५८, उत्पादन ०.६४, माइक्रोफाइनान्स १.७३, म्युचल फण्ड ०.०८ र अन्य २.३५ प्रतिशतले बढेको छ ।

बुधबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.६२ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक २८ करोड १७ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालय डिष्टिलरीको २४ करोड ३३ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ५६ लाख ४५ हजार, आइजीआइ प्रुडेन्सिलयल १३ करोड ३४ लाख ३१ हजार र नेपाल टेलिकमको १२ करोड ८८ लाख २२ हजार रूपैयाँको  कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।