NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

उच्च तापक्रमका कारण करोडौंको ड्रागन कुहियो

पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रागन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रागन फ्रुट बोटमै कुहिएका छन् ।

तीन पटक (लट) सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रागन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् ।

यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पुर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ ।

‘पहिलो पटक सुरु गरेको खेतिमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो’, तामाङले भने । ड्रायगनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उनले बताए । ‘अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ । पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ’, पूर्व वडाध्यक्ष तामाङले भने ।

पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रागनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् । लिम्बूले यस पटकको घाम र हावाले १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिए । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को माैसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए ।

एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो । ‘एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ । सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ’, उनले भने । सुनवर्शी नगरपालिका–१ मा सञ्चालित तुर्छा ड्रागन फ्रुट फर्ममा  १५ देखि २० लाख बराबरको फुल्दै गरेको ड्रायगनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए ।

लागतार एक हप्तासम्म लागेको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए। मोरङ गछियामा व्यावसायिक ड्रागन खेती गर्दै आएका टिएन तामाङको फर्ममा चारदेखि पाँच लाख बराबरको ड्रागन कुहिएको छ । सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो ।

पूर्वी नेपालमा पहिलो पटक ड्रागन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस  सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए। आफूले सञ्चालन गरेको तर्जुमा ड्रागन फ्रुट फर्ममा मात्रै पाँच/सात लाखको फल कुहिएर झरेको उनको भनाइ थियो ।

‘ड्रागनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ । ड्रागनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सगसँगै हुन्छ । सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ’, घलेले भने । उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ ।

ड्रागन फलको नेपालमा अत्यधिक माग छ । खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रागन फ्रुटले नेपाली बजार चलेको छ । बाहिरबाट आयात हुने ड्रायगन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ ।

नेपाली ड्रागनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन् । पूर्वमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन् ।

नेपालमा ड्रागन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो । चर्को घामका कारण ड्रागनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत  समस्या आउन थालेको किसानले गुनासो गरेका छन् ।

ड्रागन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ । साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ ।