NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

असार लागेसँगै भक्तपुरमा सुरु भयो रोपाइँ

भक्तपुर । यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भए पनि रोपाई भने नरोकिएको बताए । उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई किसानले तीव्रता दिएको बताए ।

धानखेतीका लागि नभई नहुने रासायनिक मलकोसमेत किसानले अभाव खेपिरहनुपरेको उनले बताए। पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन, धानको बीउको अभाव रहे पनि धान रोपाइँको चटारो चलेको बताए ।

चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताए । उनले धान रोपाइँमा आवश्यकपर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको उनले बताए ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाई गिरीले बताउँछन् ।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।

उनले धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको बताए। सूर्यविनायक नगरपालिका–८ नँखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताए। उनले भने, ‘खेतमा हाल्ने मल पर्याप्त छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो ।’

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउनु हुन्छ, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रबिधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपाइँ गरिएको बताए । धान रोपाइँ छिटो भएपछि किसान भने खुसीमा रहेका छन्।