NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘एनआइयू इलेक्ट्रिक’ स्कुटर : नेपालमा लोकप्रियता बढ्दै

काठमाडाैं । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा बढी किलोमिटर गुड्न सफल भएको छ ।

इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको जनाइएको छ ।

‘एनआइयू’को पोर्टफोलियोमा ६ सिरिजका दुई पाङ्गे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा. मौसम बोहराले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिए ।

लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर कम्पनीले विकसित गरेका ‘एनआइयू’ चौथो पुस्ताको ब्याट्री समेत नेपाल भित्रिसकेको छ । उनले चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको जानकारी दिए ।  यस्ता सवारी साधनमा ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । व्यवस्थापन निर्देशक डा बोहराले भने, ‘यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन ।’

एनआइयू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्रउन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।

पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । यस्ता सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न  र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेको  कम्पनीले जनाएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको बोहराले बताए ।