NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

ताप्लेजुङ । निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ ।

जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ ।

सडक वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चल्ने अवस्थामा छैनन् । सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

‘अवरुद्ध बाटो सञ्चालनका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने सम्बन्धमा अहिले जिल्लास्थित सम्बन्ध निकायसँगको बैठक जारी छ’, उनले भनिन् । बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको प्रजिअ चेम्जोङको भनाइ थियो ।

उनका अनुसार बाढीपहिरोबाट जोखिममा परेका परिवारको उद्धार तथा राहतका लागि संघ र प्रदेश सरकारसँग सहायता लिनेलगायत विषयमा पनि छलफल गरिनेछ ।गएरातिको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका छन् ।

तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध छ । ‘गएराति पहिरोले घर बगाउँदा सिदिङ्वा गाउँपालिका-६ स्थित मेहेलेमा एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन्’, प्रजिअ चेम्जोङले भनिन्, ‘आङ्खोपमा तीन घर बाढीले बगाएको छ भने दर्जनौं घर जोखिममा परेका छन् ।’

उनका अनुसार जोखिममा परेका घरका परिवार सुरक्षित क्षेत्रमा सरेर बसेका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षाले ग्रामीण क्षेत्रका नागरिक त्रसित छन् । दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् ।

सिरीजङघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् ।विभिन्न क्षेत्रका जलविद्युत आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ ।

विद्युत् आपूर्ति बन्द भएको छ । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि भने केही सामान्य भएको छ । गएरातिको वर्षा, बाढीपहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले संकलन गरिरहेकाले विस्तृत विवरण आउन बाँकी छ ।