NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नेपालका क्लब र रेस्टुरेन्टमा एलएसडी लागुऔषधको कारोबार

काठमाडौं । नेपालमा क्लब तथा रेस्टुरेन्टमा रसायनबाट बन्ने लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार हुन थालेको छ । विदेशी नागरिकहरू एलएसडीको कारोबारमा नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले एलएसडी लागुऔषधको कारोबारमा संलग्न दुई विदेशीसहितको गिरोहलाई पक्राउ गरेको छ । उनीहरूबाट १० हजार एक सय ३१ वटा एलएसडी लागुऔषध बरामद भएको र यो नेपालमा अहिलैसम्मकै ठूलो बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले विशेष अप्रेसन चलाई काठमाडौं र पोखराबाट गिरोहका सदस्यहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठमेलका नाइट क्लब तथा विभिन्न होटल–रिसोर्टमा ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री हुँदै आएको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताए ।

प्रहरीले विदेशबाट एलएसडी ल्याएर बिक्री गर्ने इटालियन नागरिक डेभिट मिनाडियोलाई समेत ठमेलबाट पक्राउ गरेको छ । उनले एजेन्टहरू बनाएर काठमाडौैं तथा पोखरामा समेत यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए । उनका सहयोगीहरू राज गौतम र चेक रिपब्लिककी मार्टिना सेर्नालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । काठमाडौंमा भने उनीहरूको मुख्य एजेन्ट मुखिया गुरुङ हुन् । गुरुङले पनि सुगम मैनालीलाई समेत एजेन्ट बनाएर ठमेलका क्लब तथा रेस्टुरेन्टमा यस्तो लागुऔषध बिक्री गर्दै आएका थिए ।

इटालियन नागरिकबाट मात्र १० हजार ९८ वटा एलएसडी लागुऔषध बरामद भएको ब्युरोका एसपी चक्रराज जोशीले बताए । एउटा एलएसडीको नेपालमा उनीहरूले तीन हजारदेखि चार हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए । जसअनुसार बरामद लागुऔषधको अवैध बजार मूल्य करिब चार करोड रुपैयाँ पर्दछ ।

बैंककबाट भारत हुँदै नेपालमा सो लागुऔषध ल्याएको प्रहरीको आकलन छ । कागजमा टाँसेर कारोबार हुने भएकाले यस्तो लागुऔषध बरामद गर्न पनि कठिन हुने प्रहरी अधिकारी बताउँछन् ।

सो समूहले खासगरी ट्रान्स पार्टीका लागि यस्तो लागुऔषध बिक्री गर्दै आएको प्रहरी अधिकारी बताउँछन् । काठमाडौं, चित्लाङलगायत ठाउँमा यस्तो लागुऔषधको पार्टी भएको सूचना प्रहरीले पाएको थियो । पोखरामा पक्राउ परेका एक व्यक्तिले आफू पनि त्यस्तो पार्टीमा सहभागी भएको स्विकारेका छन् ।

पक्राउ परेका इटालियनसँग मेथमफेटामाइन तथा मुखियासँग कोकिनसमेत बरामद भएको छ । सामान्यतया नेपाली बजारमा कोकिनको खपत नहुनेमा यो अन्तर्राष्ट्रिय गिरोहले विदेशी पर्यटक तथा क्लबमा जानेलाई लक्षित गरी यस्तो लागुऔषधको कारोबार थालेको प्रहरीले जनाएको छ । मुखिया यसअघि याबा लागुऔषधसहित पक्राउ परेकोमा २७ महिना जेल बसेर छुटेका व्यक्ति हुन् । उनका सहयोगीहरू दावा तामाङ र नरबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।