‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा । ‘लम्पी स्किन’ रोगको संक्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ ।
गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए ।
रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभैंसीमा खोप अभियान सञ्चालन गरिएको उनले बताए । ‘अहिलेसम्म तीन सय गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाई सकिएको छ’, उनले भने, ‘गोरखा जिल्लामा पहिलो पटक लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो ।’
खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा अर्यालले बताए । लम्पी स्किन रोग लागेपछि पशुबस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए पशुको मृत्युसमेत हुने डा अर्यालको जानकारी दिए । ‘पशुमा यो रोगको लक्षण देखिने बित्तिकै पशु चिकित्कसँग परामर्स गरी उपचार गर्नुपर्छ’, उनले भने, ‘एक पशुबस्तुबाट अर्को पशुबस्तुमा सर्न नदिन रोग लागेको पशुबस्तुलाई निरोगी पशुबस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ ।’
गोरखा जिल्लाभित्र पाँचभन्दा बढी स्थानीय तहहरुमा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलि सकेको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकामा लम्पी स्किन रोगको संक्रमण फैलिएको पशुसेवा विज्ञकेन्द्र गोरखाले जनाएको छ ।
‘लम्पी स्किन’ रोगका कारण अहिलेसम्म ५८ वटाभन्दा बढी पशुको मृत्यु भइसकेको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया