NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

‘वित्तीय साक्षरता कक्षाले बचत गर्ने बानी बस्यो’

खोटाङ। वित्तीय साक्षरता कक्षाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलाका स्थानीय बासिन्दामा बचत गर्ने बानीको विकास भएको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम खोटाङले मङ्गलबार नूनथलामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया गर्नेक्रममा यस्तो पाइएको हो ।

वैदेसिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका आफन्तले विदेशबाट पठाएका पैसाले नूनथलाका अधिकांश स्थानीय बासिन्दाले केही न केही व्यवसायसमेत सुरु गरेका छन् । केहीले व्यापार त केहीले तरकारी तथा बङ्गुरपालन गरेका छन् । नूनथलास्थित मूलडाँडाकी साङडोमा शेर्पाले विदेशबाट आएको रेमिट्यान्सलाई फजुल खर्च नगरी बचत गर्न थालेको बताइन् ।

‘सामी कार्यक्रमले सञ्चालन गरेको २१ हप्ते रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षापछि आफ्नो श्रीमान्ले कतारबाट पठाउने पैसालाई चाहिदो मात्रामा घरखर्च गरेर बचत गर्न थालेकी छु,’ उनले भनिन्, ‘बालबालिकाको फजुल खर्च घटाएकी छु । पसलसँगै बङ्गुर पालेर आम्दानी बढाउन थालेको छु । श्रीमान् विदेशमा हुनुहुन्छ । परिवार चलाउन उहाँको मात्र भर पर्दिन । म पनि आम्दानी गर्छु ।’

नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमले नूनथलामा २१ दिने रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा समापनको अवसरमा मङ्गलबार स्थलगत अध्ययन र अन्तरक्रिया गर्दा साङडोमाले जस्तै सहभागीले फजुल खर्च घटाएर बचत गर्न थालेको बताएकी छन् ।

नूनथलाकै मीना राईले छोरा दुबईमा रहेको र छोराले विदेशबाट पठाएको पैसालाई बढाउन डालो, नाङ्लो, थुन्से लगायतका सागम्री बुन्ने व्यवसायमा लगानी गरेको बताइन् । वित्तीय साक्षरता कक्षा लिएपछि विदेशबाट आएको पैसालाई फजुल खर्च नगरी सही ठाउँमा सदुपयोग गर्न र बचत गर्नुपर्छ भन्ने चेतना आएको साङलामु शेर्पाले बताइन् । कक्षा लिएपछि नै कतार पुगेका श्रीमानको सम्पूर्ण कागजातको एकएक प्रति फोटोकपी गरेर घरमै राखेको साङलामुले जानकारी दिइन् ।

वित्तीय साक्षरता कक्षाले आम्दानी बढाउनुपर्ने खर्च कम गर्नुपर्ने बानीको विकास गराएको अन्तरक्रियामा सहभागी निर्मला तामाङले बताइन् । तामाङले अहिले खुत्रुके बचतलाई प्राथमिकता दिएर बाख्रापालन व्यवसायी सुरु गरेका छन् । अर्का सहभागी पवित्रा तामाङले पनि खुत्रुके बचत गर्दै कुखुरा र बाख्रापालन सुरु गरेको सुनाइन् । नूनथलाकै फुर्लमु शेर्पाले बङ्गुरपालन गरेका छन् ।

वित्तीय साक्षरता कक्षापछि व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती गर्न थालेको मूलडाँडाका दोर्जे शेर्पाले बताए । ‘एउटा टनेलामा गोलभेडा र अर्को टनेलामा फूलकोभी लगाउँदै आएको छु । गाँजर, खुर्सानी, बन्दाकोभी पनि लगाएको छु । उत्पादन भएका तरकारी दिक्तेलमा बिक्री गर्न लान्छु,’ उनले भने, ‘आफूले बिक्री गरेको सम्पूर्ण आयव्याय खर्च पनि राख्न थालेको छु ।’

वित्तीय साक्षरता कक्षापछि नै ‘नूनथला वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श समूह’ नामक कृषि समूह नगरपालिकामा दर्ता गरिसकेको शेर्पा बताउँछन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारले गठन गरेका किसान समूहलाई वडा कार्यालयबाट समेत सम्बोधन गर्ने गरिएको नूनथलाका वडाध्यक्ष भगेश्वर राईले बताए ।

वरिष्ठ पत्रकार कृष्ण आचार्यले समस्यापछि लड्नुभन्दा वैदेशिक रोजगारसम्बन्धी अगाडि नै सचेत भएमा समस्या कम गर्न सकिने बताए । श्रीमान् वा विदेश जाने व्यक्तिको प्रत्येक कागजातको फोटोकपी मगाएर अनिवार्य रुपमा घरपरिवारले राख्न पत्रकार आचार्यले सुझाव दिए । रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षाले फजुलखर्च गर्नबाट जोगाएर परिवारको श्रीमान्लाई बारम्बार विदेश जान रोक्नमा मद्दत गर्ने सामीका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । कार्यक्रममा वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशीलता विकास आयआर्जनमा वृद्धि, व्यवसायिकता, आर्थिक, व्यवहारिक विषयवस्तुमा छलफल गरिएको थियो ।

वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा हुने पीडा, चिन्ता, हिंसा लगायतका विषयमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो । नूनथलास्थित वडा कार्यालयमा आयोजित वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तिका परिवार, विशेष गरेर महिला सदस्य सहभागी भएका थिए ।

चालु आर्थिक वर्षमा नूनथला र जालापमा २५/२५ जनाको दुई/दुई समूह बनाएर वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुइपामा सञ्चालन गरिएको कक्षा क्रमशः सबै वडामा सञ्चालन गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि सञ्चालन गरिरहेको छ । दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ ।