NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सात राजदूत र परराष्ट्र सचिव नियुक्तिको तयारी

काठमाडौं । सरकारले विदेशस्थित सात कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आगामी बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रिया अघि बढाउने सरकारी तयारी छ ।

हाल पाँच दूतावास र दुईवटा संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन छन् । न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा कार्यकाल सकिएर राजदूतहरू स्वदेश फर्किसकेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएको छ । कार्यकाल सकिएर स्वदेश फर्केका सबै परराष्ट्रका सहसचिव हुन् । अब सातै स्थानमा परराष्ट्रका सहसचिवहरूको नियुक्तिका लागि सरकारले सिफारिस गर्न लागेको छ ।

‘हामी सघन छलफलमा छौँ । राजदूत नियुक्ति सिफारिस यथाशीघ्र हुन्छ,’ परराष्ट्रमन्त्री एनपी साउदले नयाँ पत्रिकासँग भने, ‘सकेसम्म चाँडो निर्णय गर्ने गरी छलफल भइरहेको छ ।’ राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने हुन्छ । तर, कार्यकाल समाप्त भएर राजदूतहरू फर्केपछि सरकारले नियुक्तिको तयारी गरेको हो ।

राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ । राजदूतहरूलाई सम्बन्धित देशबाट एग्रिमो (स्वीकृति) प्राप्त भएपछि राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

चारवर्षे कार्यकाल पूरा गरेका सातै राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) हुन् । परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत दाबेदार छन् । परराष्ट्रसचिव भरतराज पौड्याललाई न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । उनको नाम सिफारिस भएपछि परराष्ट्रमा वरीयताका आधारमा सहसचिव सेवा लम्साल परराष्ट्रसचिव हुने बाटो खुल्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।