NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

किन घट्यो नवलपुरमा नयाँ उद्योग खुल्ने दर ?

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ ।

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा चार सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए ।

गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन् । गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए । नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए ।

“पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ । औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्”, खनालले भने । नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ६४ र आव २०७७/७८ मा ४५ उद्योग खोजी भएका थिए । वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ । गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा एक हजार एक सय ५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको सङ्ख्या ६ हजार सात सय ४७ रहेको छ । वाणिज्य तर्फ भने आठ हजार सात सय ९८ उद्योग रहेका छन् ।

आर्थिक मन्दिकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठ अर्यालले बताए । उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ । पछिल्लो पटक बैंकको चर्को ब्याज दरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामासमेत नयाँ उद्योग दर्तामा कमी आएको अर्याल बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष