NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एयरपोर्टको स्क्यानर मेशिनले किन सुन चिन्दैन ? खोट यन्त्रमा कि कर्मचारीमा ?

काठमाडौं । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक क्वीन्टल सुन भन्सार पास भइसकेपछि बरामद भयो ।
विशेष अपरेसनमार्फत राजश्व अनुसन्धान विभागले यो अहिलेसम्मकै ठूलो मात्रामा सुन बरमाद गरेको हो ।

अर्कोतर्फ जाँचपास गर्ने भन्सार विभाग भने पुराना सामान भएकाले स्कुटर र मोटरसाइकलको ब्रेकसुमा हालेर ल्याइएको सुन डिटेक्ट नभएको हुन सक्ने तर्क गरिरहेको छ । यति व्यस्त रहने विमानस्थलको स्क्यानर यति कमजोर छ, जसले सुन र पित्तल छुट्याउन सक्दैन ?

विभागका एक पूर्वमहानिर्देशक भन्सार जाँचपासको काम सहज नहुँदा यस्ता समस्या दोहोरिने गरेको बताउँछन् । उनकाअनुसार भन्सार जाँचको आफ्नै ‘टेक्निकालिटिज’ हरू हुन्छन् । जाँचपास गर्ने कर्मचारीले आफ्नो हातमा भएको जाँच मेसिनवाहेक ‘इन्टिलिजेन्स’ को पनि उत्तिकै प्रयोग गर्नुपर्ने हुन्छ । तर व्यवहारमा त्यस्तो छैन ।

एयरपोर्टमा प्रयोग हुँदै भएको स्क्यानर उन्नत प्रविधिको नभएको भन्दै उनले भने, ‘हामी कहाँ प्रयोग भइरहेको आइरन डिटेक्ट गर्ने मेसिनले कहिलेकाहीं सुन भनेर ठ्याक्कै डिकेक्ट गर्न गाह्रो हुन्छ । यसको लागि सुन नै डिटेक्सन गर्न सक्ने उच्च प्रविधिको यन्त्र चाहिन्छ ।’

तर बुधबार विमानस्थलको चेकजाँचबाट सुन बाहिर आउनका लागि मेशिन भन्दा त्यहाँ खटिएका कर्मचारी बढि जिम्मेवार हुने ती महानिर्देशकले बताए । नेपाल सरकारको सहसचिवमा अहिले पनि बहाल ती पूर्वमहानिर्देशकले आफ्नो नाम भने उल्लेख गर्न चाहेनन् ।

उनले भने, ‘मेशिनले काम गरेन वा सुन डिटेक्ट गरेन भनेपनि जाँच गर्ने अधिकृतले नेपालमै बन्ने ब्रेक–सु हङकङदेखि जहाज चढेर किन आयो ? भनेर सोच्नुपर्ने हुन्थ्यो । सचेत हुनुपर्ने हुन्थ्यो । यस्तै त्यो ब्रेकसु मात्रै थियो भने एकैदिनमा पास गर्ने हतारो किन गर्यो भनेर सचेत हुनुपर्ने थियो ।

भर्खरै लोकसेवा पास गरेर एयरपोर्टमा कमाई हुन्छ भनेर पुगेका अधिकृतहरुले यी विषयतिर ध्यान नदिदा त्यहाँ प्रणालीले काम गर्न नसकेको हो । ति पूर्वमहानिर्देशकले भने, प्रणालीको विकास नहुँदासम्म यस्तो घटना रोकिन्न ।

हाम्रोमा प्रणालीको विकास नहुँदा यस्ता घटना भविष्यमा पनि दोहोरिरहने उनको दावी छ । ‘यो त पूरै प्रणालीमै समस्या देखियो । अब दिर्घकालिन समाधान खोज्ने हो भने प्रणालीको विकास नगरी हुँदैन,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष