NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

धान फल्ने खेतमा कङ्क्रिटका घर

गलेश्वर । म्याग्दीको बगरफाँट, सिंगा, ताकम, रत्नेचौर र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो ।

अन्नबालीले यहाँका फाँट निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो तर, जब सडक बनेर गाडी कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँट अब कङ्क्रिटका घरले भरिन थालेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्बर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी नगरपालिका–४ सिंगा, बेनी नगरपालिका–१ रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायतका सडकको पहुँचपुगेका ठाउँको अवस्था पनि यस्तै छ ।

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्बर फाँट कङ्किटको सहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतीयोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतीपाती गरिँदैन । बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले भने “बालीझुल्नु पर्ने खेतका फाँटमा घर ठडिए पछि अन्नबालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यान्नमा निर्भर रहनुपरेको छ ।”

खेती गरेर उत्पादित कृषिजन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयको भनाइ रहेको छ । खेतीयोग्य जमिन घडेरी बनाउनको लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन ।

कृषिज्ञान केन्द्र म्याग्दीका अनुसार म्याग्दीको खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकार खाना बनेका छन् । सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आए पनि कृषियोग्य जमिन मासिँदै जान थालेको छ ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठ वटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लो फाँट ९पलाँसे क्षेत्र० गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँसरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्बर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात रु एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।

हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्बर भूमि सखाप हुने उनको भनाइ छ ।

“जिल्लामा न त आधुनिक खती प्रर्णालीको विकास हुनसकेको छ न त रैथाने परम्परागत कृषि पेसालाई राम्रोसँग अपनाउन सकिएको छ”, स्थानीय किसान टेकबहादुर कार्कीले भने, “किसानले खेतीयोग्य जमिन बेच्नुबाहेकको विकल्प छैन ।” म्याग्दी जिल्लामा आठ प्रतिशत बेँसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६ प्रतिशत हिमाली क्षेत्रको भू–बनोट रहेको छ । समुद्र सतहबाट सात सय ९२ मिटर (बेनी नगरपालिका–१ रत्नेचौर) देखि आठ हजार एक सय ६७ मिटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल दुई हजार दुई सय २९७ वर्ग किलोमिटर (२,२९,७०६ हेक्टर) रहेको छ ।

पन्ध्र वर्षयताको तथ्याङ्क हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधाभन्दा बढी जमिन घटिसकेको छ । अहिले आयातित खाद्यान्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक दिन खेतीयोग्य जमिनमा पक्की भवन ठडिँदासमेत कसैले खेतीयोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् । बाहिरका मानिस सदरमुकाममा बसाइँ सरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतीयोग्य जमिन बेचेर काठमाडौं, पोखरा, चितवनजस्ता सहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीय बताउँछन् ।

सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बूढापाकाले खेतीपातीको काम गर्दै आइरहेको भए पनि युवा पढाइलेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष