NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

लुम्बिनी । बुटवलको तिनाउ नदी र दानव नदीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा शकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए । नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस्तै जिल्लाको सैनामैना–८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ । स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो । सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्तरूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए ।

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो ।