NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्री र रास्वपा प्रमुख सचेतकबीच भेट, के भयो कुराकानी?

काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समसामायिक राजनीतिक घटनामा छलफल भएको परियारले बताए।

सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए।

‘प्रधानमन्त्री ज्यूसँगको भेटमा संसदको गतिरोध अन्त्य गर्ने र संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भयो। हाम्रो पार्टीले संसदको गतिशिलता र प्रभावकारीमा विश्वास गर्छौ। जनताका मुद्दाहरु संसदबाटै उठ्नु पर्छ र संसदलाई चलायमान बनाउनु पर्छ भन्ने हाम्रो धारणा हो। तर पछिल्ला समयमा बिभिन्न मुद्दामा एक खालको गतिरोध उत्पन्न भएको छ। त्यसलाई हटाउँदै, राजनीतिक पार्टीहरुबीच सहमती गर्दै संसदलाई प्रभावकारी बनाउनु पर्छ भन्ने कुरामा छलफल भयो,’ उनले नेपालवाचसंग भने।

भेटमा संसदीय समितिको सभापति चयनकालागि पनि आफुले प्रधानमन्त्रीसँग कुरा राखेको परियारले बताए।

कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य परियारसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा पनि चासो राखेको र समितिले गरिरहेको कामका बिषयमा आफुले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको उनले बताए।

यस्तै सरकारले चालेको भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको सचेतक परियारले बताए। सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएकाले साथ र सहयोग गर्न प्रचण्डले आग्रह गरेको उनले बताए।

‘सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएको छ। यो कसैको दवाव वा प्रभावमा रोकिँदैन यसमा तपाईहरुको साथ सहयोग हुनुपर्यो,’ प्रधानमन्त्रीको भनाई उदृढ गर्दै परियारले भने।

ताजा अपडेट

नेपालवाच विशेष