NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोशीका सभामुखले दिए राजीनामा, उद्धव थापालाई मुख्यमन्त्री दाबी गर्न बहुमत

काठमाडौं। कोशी प्रदेशसभाका सभामुखले राजीनामा दिएका छन्।

सभामुख बाबुराम गौतमले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। गौतमले राजीनामा दिएको पत्र प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन्।

उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। कोशीमा सरकार बनाउन सत्ता गठबन्धनलाई एक मतको कमी भएपछि गौमतलाई राजीनामा गर्न लगाइएको हो।

अब गौतमको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। यसअघि प्रदेश प्रमुखले सरकार गठनका लागि आज (मंगलबार) सम्मको समय दिएका थिए।

सोहिअनुसार अब गौतमको राजीनामा पछि बहुमत सदस्य पुराएर थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन्। गठबन्धनका तर्फबाट बहुमत पुगेको दाबी पेस गर्न नेताहरु प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन्। प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र राप्रपाका ६ गरेर ४६ सांसद छन्।

ताजा अपडेट

नेपालवाच विशेष