NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीमाथि कारबाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाइएको छ । “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,” महानिर्देशक मिश्रले भने । विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

सबैभन्दा धेरै काठमाडौं कार्यालयले कारबाही गरेको छ । काठमाडौं कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । गत आवमा काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाहीमा परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक तथा धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, सिलगढीमा दुई सय दुई, वीरगञ्जमा एक हजार चार सय ३६, जनकपुरमा सात सय २५, विराटनगरमा दुई हजार चार सय ६ र झापामा एक हजार तीन सय ३४ व्यापारी कारबाही गरिएको विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए । गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताए ।

‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ’, प्रवक्ता भट्टा बताए । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट रु सात करोड १६ लाख राजस्व सङ्कलन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष