NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादी केन्द्रीय समितिको बैठक २ घण्टा सर्‍यो, ‘लाइभ’ पनि नगर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २ घण्टा सरेको छ ।

अहिले बिहान ११ बजे बस्ने तय भएको बैठक २ घण्टा सारेर एक बजे बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो ।

यस्तै माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक प्रत्यक्षण प्रसारण पनि नगर्ने भएको छ । गत सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

आज बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डामा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।